भूकम्पका बेला भागेका वृद्धको लडेर मृत्यु

बैतडी, २८ कात्तिक । बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेट जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ । 

भूकम्पको धक्का महसुस भएका बेला घरबाहिर निस्किँदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो ।

भूकम्पको धक्का महसुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । 

मृतक लुहारको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ । 

गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ । 

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ । 

शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा  ठुलो धक्का महसुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युटको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board