शिक्षकको मर्यादाक्रम चाँडै टुंगिन्छ : मन्त्री पौडेल

बागलुङ, २७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको बताएका छन् ।

शनिबार गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताए ।

उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृहमन्त्रालयसँग समन्व्यगरी चाँडै टुंग्याइने जानकारी दिए ।

“शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,” उनले भने, “सरकारको शून्य लागतमा मर्यादाक्रमको फाइल गृहमन्त्रालयसँग समन्व्य गरी टुंग्याउने चरणमा छौँ ।”

शिक्षा मन्त्रालय तीन प्रकारको सुधारमा केन्द्रित रहेको बताउँदै नीति, कानुनी र शिक्षण सिकाई सुधार मुख्य रहेको बताए ।

“नीतिगत र कानुनीसुधार सरकारले गर्ने हो,” उनले भने, “शिक्षण सिकाई सुधार गर्ने काम शिक्षकको हो ।”

१० वर्षे विद्यालय सुधार योजना कार्यक्रम अघि बढेको बताउँदै निर्वाचनपछि हाल विद्यालयमा रहेका शिक्षकलाई व्यवस्थापन गर्ने गरी नयाँ शिक्षक पठाइने बताए ।

शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्‍याएको बताए ।

शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमतिपत्रलगायतका कामले गति लिएको उनको भनाइ छ ।

मन्त्री पौडेलले शिक्षक महासंघका ५१ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए । विद्यालय समायोजनको प्रकृया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयहरुको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।

सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उनले उल्लेख गरे।

मन्त्री पौडेलले गलकोट र ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने गरी निर्णय भएको समेत बताए । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भने पनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजाका लागि बजेटको व्यवस्था गरेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board