ओलीले भने– मंसिर ४ पछि एमालेको सरकार बन्छ

काठमाडौँ, २७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

कैलालीको अत्तरियामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए । “मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्,” उनले भने । अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभइ भागबन्दाका लागि भएको उनको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिनामा ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताए ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति