काठमाडौँ, २६ कात्तिक । नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट एसोसिएसन अफ नेपालले पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो ।
बलात्कार आरोप लागेपछि सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेपछि कप्तान पद रिक्त रहेको थियो । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
सन्दीप गत पुसमा नेपाली टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो ।
नयाँ कप्तानमा नियुक्त भएका पौडेल अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीसमेत हुन् । गत चैतमा सम्पन्न पपुवा न्युगिनीविरूद्धको एकदिवसीय सिरिजमा रोहितले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका थिए ।
रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । १५ वर्ष ३३५ दिनको उमेरमा राष्ट्रिय टिमबाट खेलेका उनी एकदिवसीय खेलमा डेब्यु गर्ने चौथो कम उमेरका खेलाडीसमेत हुन् ।
त्यस्तै, क्यानले आगामी सोमबारदेखि सुरू हुने युएईविरूद्धको एकदिवसीय श्रृंखलाका लागि रोहितको कप्तानीमा १६ सदस्यीय टिमसमेत घोषणा गरेको छ ।
प्रतिक्रिया