तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् ।

स्याङ्जाको वालिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा ठुला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे ।

“कांग्रेस, कम्युनिस्टलाई धेरै पटक विजयी बनाउनुभयो, मत बदल्नुभएन र देशको अवस्था उही रह्यो,” उनले भने, “एकपटक मनलाई मतसँग जोड्नुहोस् र मत बदल्नुहोस्, हामी देशको अवस्था बदल्छौँ ।”

आगामी मंसिर ४ ते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आवधिक मात्रै नभइ असल पार्टी र नेता चुन्नुपर्ने उनको भनाइ थियो ।

“यो निर्वाचन आवधिक निर्वाचन मात्रै होइन, असल पार्टी र नेता चुन्नेमात्रै होइन, विगतको समीक्षा र भविष्यको मार्ग तय गर्ने महत्वपूर्ण अवसर पनि हो,” लिङ्देनले भने, “अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पायौँ, अझै कति दुःख पाइरहने हो ? सोच्नुस् यो पटक ।”

हिजो अर्को देशलाई सहयोग गर्ने देश आज मागी खाने, थापी खाने देशका रूपमा चित्रित भएको भन्दै उनले देशमा हाल रहेको तीन वटा सरकारलाई दुई वटामा झार्नुपर्ने बताए ।

“म कहिले पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई गर्न पनि दिन्नँ,” उनले भने, “भ्रष्टाचारी प्रवृत्तिमाथि डोजर चलाउने मन छ, म एक्लै संसद्‌मा पुगेर आवाज पुगेन, अरू पनि साथी सहयोगी पठाइदिनुहोस् भन्न स्याङ्जा आएको हुँ, तपाईंको सहयोग माग्न आएको हुँ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति