काठमाडौँ, २३ कात्तिक । एक शून्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ ।
मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो ।
बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यसअघि खेलको छैटौँ मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए ।
खेलको ३१औँ मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । खेलअघि अघिल्लो हप्ता सन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो ।
जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंकसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया