दुई करोड बढीको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा

भैरहवा, २२ कात्तिक । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअपसहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले बिहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, बिहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको  गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।

प्रारम्भिक तथ्याङक अनुसार २ करोड बढीको सामान छ । बरामद सबै सामानको तथ्याङक संकलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामानमात्रै भेटिएकोले संकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

बिहानैबाट खटिएको टोली लोकेशन अनुसार नै ती वस्तुहरु नियन्त्रण लिँदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरु बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले भने । सम्भवतः बरामद सामान एकै ठाउको यति ठूलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरु नै गोदामबाट बरामद भएको छ । 

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहँँदा पनि करोडौँको सामान बरामद हुन भनेकै सुरक्षाप्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुँदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीमाथि शंकाको प्रश्न छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति