ढोरपाटन, २२ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे ।
केपी ओली नेतृत्वको सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा उनको जोड थियो ।
“एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक–पटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्,” उनले भने, “गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मंसिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्ने छ, नेपाली जनताले ओलीलाई चिनिसके ।”
उनले आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरूद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ ।
नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसद्मा आवाज उठाउन चुनावमा होमिएको बताए ।
प्रतिक्रिया