बागलुङ, २१ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउने बताएका छन् ।
नेकपा (एमाले) बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।
सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहनाअनुसार विकास निर्माणका काम गर्न सक्ने उनले बताए ।
एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो । यहाँका जनताका समस्य एमालेले बुझ्ने छ,” ओलीले भने ।
पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनले सरकार बनाएपछि विकास अवरूद्ध भएको आरोप लगाए । तीव्र गतिमा अगाडि बढेको विकास रोकेर गठबन्धनले जनताको चाहनालाई पनि रोकेको आरोप लगाए ।
ओलीले गठबन्धनको नाममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाए । उनले प्रचण्डको पछि लागेका देउवाले कांग्रेसलाई माओवादीभन्दा सानो बनाउने टिप्पणी गरे ।
जनताको समस्या बुझ्ने, गुट उपगुट नभएको दल एमाले मात्रै भएको उनको दाबी थियो । बुर्तिबाङलगायत समावेश भएको निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार बनेको नेकपा (माओवादी केन्द्र)का सचिव एवम् शिक्षामन्त्री देवेन्द्र पौडेललाई उनले ‘पाहुना उम्मेदवार’ भन्दै कटाक्ष गरेका थिए ।
“घुम्न आएका पाहुनाबाट विकास सम्भव छैन,” उनले भने, “काम गर्न आफ्नै उम्मेदवार चाहिन्छ ।” उनले एमालेको उम्मेदवार आफ्नै भएको जिकिर गरे । एमालेले भने यस क्षेत्रमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको थियो ।
यसैबीच, ओलीले मंसिर ४ गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कूटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए ।
“हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आफैँ चढेर आएँ,” उनले भने, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।”
प्रतिक्रिया