भारत समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ- भारत समूह दुईको विजेताको रूपमा अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम खेलमा जिम्बाब्वेलाई ७१ रनले पराजित गर्दै भारत समूहको विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

५ खेलबाट ८ अंक जोड्दै भारत तालिकाको शीर्ष स्थानमा रह्यो । यता ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान भने उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्‍यो ।

अब भारतले समूह एकको उपविजेता इंग्ल्यान्ड र पाकिस्तानले समूह विजेता न्यूजिल्यान्डको सामना गर्नेछ ।

आइतबारको खेलमा भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रनमात्र जोड्न सक्यो । जिम्बाब्वेका लागि र्‍यान बर्लले ३५ तथा सिकन्दर राजाले ३४ रन जोडे । भारतका लागि रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोड्यो । भारतका लागि सुर्यकुमार यादवले २५ बलमा अविजित रहँदै ६१ रन जोड्दा केएल राहुलले ३५ बलमा ५१ रनको योगदान गरे । जिम्बाब्वेका सिन विलियन्सले सर्वाधिक २ विकेट हात पारे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board