एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिबद्धता पत्र : बृहत् लुम्बिनी विकास गुरुयोजना बनाउने प्रस्ताव

बुटवल २० कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा कतिपय पुराना र केही नयाँ योजनाहरु समेटिएका छन्।

घोषणा पत्रमा नवलपरासीको त्रिवेणीदेखि कपिलवस्तुको शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना बनाउने उल्लेख छ।

गुरुयोजना अन्तर्गत यी क्षेत्रमा शहरी क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र लगायतका क्षेत्रको वर्गीकरण गरी भू–उपयोग तथा पूर्वाधार योजना कार्यान्वयन गर्ने उल्लेख छ। बुटवलमा चिडिया खोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, विद्युत र टेलिफोनको भूमिगत प्रसारणका कुरा पनि पौडेलको घोषणा पत्रमा समेटिएको छ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग, कालिगण्डकी तिनाउ डाइभर्सन आयोजना अघि बढाउने कुरा पनि घोषणा पत्रमा दोहोरिएका छन्।रुपन्देहीको सैनामैनामा कृषि क्याम्पस स्थापना, एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था पनि घोषणा पत्रमा छ।

निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले भोग चलन गरेको जग्गा औद्योगिक क्षेत्रको सिमांकनबाट अलग गर्ने एमालेले पनि प्रस्ताव गरेको छ। पौडेलको घोषणा पत्रमा भोग चलन भएको जग्गा औद्योगिक क्षेत्रको सिमांकनबाट अलग गर्नुपर्ने उल्लेख छ।

यसअघि रुपन्देही ३ का कांग्रेस उम्मेदवार बालकृष्ण खाँणले बस्ती र अव्यबस्थित बसोबासीको जग्गा छुट्याएर औद्योगिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको शिवराजसम्म तथा त्रिवेणीदेखि कृष्णनगरसम्म उपयुक्त ठाउँमा ठूला औद्योगिक क्षेत्र निर्माण गरिने रुपन्देही २ का उम्मेदवार पौडेलले बताए।

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने, लुम्बिनी बस टर्मिनललाई सिटी बस टर्मिनलमा स्तरोन्नति गर्ने उपयुक्त ठाउँमा जग्गा पहिचान गरि आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने, तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम, तिलोत्तमामा राष्ट्रिय फूटबल मैदान बनाउने कुरा पनि घोषणा पत्रमा लेखिएको छ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा प्रदेश सभातर्फ रुपन्देही २ क उम्मेदवार लीला गिरी र २ ख का उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतका समानुपातिक उम्मेदवारको सहभागिता थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति