काठमाडौँ, २० कात्तिक । अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग १३ रनले पराजित भएको छ ।
नेदरल्यान्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका ब्याटर राइली रोसोएले २५ रन बनाए । ओपनर क्वुइन्टन डि ककले १३, कप्तान तेम्बा बभुमाले २०, एडिन मार्क्राम र डेविड मिलारले समान १७–१७ रन जोड्दा हेनरिच क्लासिनले २१ रन बनाए ।
नेदरल्यान्डका ब्रान्डोन ग्लोभरले ३ तथा बास डी लिडे र फ्रेड क्लासिनले समान २–२ विकेट लिए ।
यसअघि, एडिलेड ओभलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
नेदरल्यान्डका कोलिन एकरम्यानले सर्वाधिक ४१ रनको पारी खेले । यस्तै, स्टिफन माइबर्ग ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । यस्तै मध्यक्रमका ब्याटर टोम कुपरले २५ रनको पारी खेले ।
दक्षिण अफ्रिकाका केशव महाराजले २ तथा एनरिच नोर्किया र एडेन मार्क्रामले एक–एक विकेट लिए ।
सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्डसँग स्तब्ध भएपछि दक्षिण अफ्रिका सुपर–१२ बाटै बाहिरिएको छ । दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिएसँगै भार एक खेल अगाडिनै अन्तिम चारमा पुगेको छ ।
अब पाकिस्तान र बंगलादेशबीचको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । यी दुईबीचको खेल केहीबेरमा सुरू हुँदै छ ।
प्रतिक्रिया