काठमाडौँ, २० कात्तिक । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलंका पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धनाले श्रीलंकामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलंकाबीच धार्मिक सम्बन्ध रहेको बताए ।
“राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाण बनाएको छ”, उनले भने । संकटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
“पछिल्लो समय श्रीलंकाको अर्थतन्त्रमा केही सुधार आएको छ”, उनले भने, “यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलंकाका पत्रकारले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।” दक्षिण एसिया नेपाल, भारत, श्रीलंकाका पत्रकारको समूहलाई श्रीलंकाको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलंका भ्रमण गराउन आमन्त्रित गरिएको हो ।
टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलंकाली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलंका र एसिया मिडिया कल्चर एसोसिएसनले गरेको हो । एएमसीएका अध्यक्ष उपुल जानका जय सिंगेले पर्यटन प्रवर्द्धन ब्युरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलंकाको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।
प्रतिक्रिया