काठमाडौँ महानगर प्रमुख साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, १९ कात्तिक । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो ।

देशको राजधानी सहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी साहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत् अवलम्बन गरी निर्वाचन कानुन बाहेकका कानुनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ’, आयोगको स्पष्टीकरणमा भनिएको छ ।

उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जबाफ उपलब्ध गराइदिन आयोगको निर्देशन छ ।

आयोगले साहलाई इञ्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने त्यस दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले त्यो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति