काठमाडौँ, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धनसँग प्रश्न सोध्न आग्रह गरेका छन् । कञ्चनपुरको प्रचार सभामा ओलीलाई एमसीसीबारे सहभागीले प्रश्न गरेका थिए ।
“एमसीसी गठबन्धनले ल्यायो । पास गर्यो । त्यसो भएकाले हामीले केही भनिरहनु पर्छ जस्तो लाग्दैन,” मञ्चबाटै ओलीले जबाफ दिए, “हामीसँग किन सोध्ने, गठबन्धनलाई सोध्नुहोस् । प्रचण्डलाई सोध्नुहोस् ।”
एमसीसीमा प्रचण्डले दोहोरो भूमिका खेलेको पनि ओलीले बताए । “पोल भत्काउन लगाउने, सडक भत्काउन लगाउने, बाटो भत्काउन लगाउने, मान्छेलाई ढुंगा हान्न लगाउने,” ओलीले भने, “अनि संसद्को अघिल्लो लाइनमा बसेर हुन्छ भन्दै पास गर्ने । लाज भएन ।”
अध्यक्ष ओलीले गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बटुली, कति राम्री कठपुतली’ भएको आरोप लगाए । गठबन्धनसँग कुनै दृष्टिकोणा र भिजन नभएका कारण देशको विकास र सुशासनका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताए ।
उनले भने, “५/६ नेता मिलेका छन्, ड्यार ड्यार गरेका छन्, कुनै गन्तव्य छैन, बाटो छैन, काले काले मिलेर खाउ भालेजस्तो भएको छ । ५/६ तिर फर्केका षडमुखाहरू देश ठुग्न लागेका छन् ।”
प्रतिक्रिया