ओलीलाई रावलको काउन्टर : म ६७ मै बुढो हुने, ७० काटेका ओली कसरी तन्नेरी भए ?

काठमाडौँ, १९ कात्तिक । नेकपा (एमाले)का नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा गरेको चुनावी सम्बोधनप्रति आपत्ति जनाएका छन् । कञ्चनपुरको चुनावीसभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

त्यस सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भएको थियो । भीडबाट रावलको पक्षमा नाराबाजी भएपछि ओलीले आक्रोशित हुँदै ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बुढो भीम रावलको चिन्ता नगर्न’ भनेका थिए ।

“रावलको चिन्ता कति गर्नुहुन्छ, ०४८ देखि उनको मुख खाली छैन । अरूलाई पालो दिनुपर्दैन ? एउटा भीम रावल के के खेती गरिराख्या छ, यहाँ अरू थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,” ओलीले भनेका थिए ।

सामाजिक सञ्जालमार्फत् यसको जबाफ दिँदै रावलले ओलीका भनाइले उनीमाथि नै अनेकौँ प्रश्न उठेको बताएका छन् । “उत्तेजित भाषणले उहाँभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको छ,” रावलले भनेका छन् ।

उनले ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओली फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी भए भन्दै प्रश्न गरेका छन् । “म ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद् र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?,” उनले भनेका छन्, “अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर, अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद् र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?”

सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले ‘केपी ओली मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ जबाफ दिएका छन् ।

“स्मरण रहोस्, अछाम जिल्ला र देशैभर ब्राम्हण र क्षेत्री गरी थुप्रै ओली छन् । तिनलाई एमालेमा तत्काल अध्यक्ष किन नबनाउने ?” रावलको प्रश्न छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board