प्रचारको पराक्रम : प्रचण्ड–बाबुराम र पछि जोडिएका ओली

निर्वाचनका माहोल बन्दैछ । मुख्य दलहरुले सकेसम्म आफ्ना आफ्ना स्वार्थका गठबन्धन, तालमेल र जालझेल गरेर भएपनि चुनावी मैदानमा उत्रिएका छन् । देशमा सबैभन्दा ठूलो दल र सत्ताको नेतृत्व गरेको काङ्ग्रेस देखिएको छ । तर चर्चा संसदको तेस्रो दल भएको माओवादी र त्यसका सुप्रिमोको सवैभन्दा बढी छ । संयोग वा विचित्र निरन्तरता भनौं पचासको आधाउधीबाट एकछत्र रुपमा अविछिन्न नेपाली राजनीति प्रचण्ड प्रचारबाट डोमिनेटेड छ । टाउकाको मोल तोकिने प्रकरणबाट शुरु भएको प्रचण्ड प्रचार र प्रचण्डफोविया संविधानसभा, नयाँ संविधान, वाम गठबन्धन र खाम गठबन्धनसम्म आइपुग्दा सदावहार रुपमा नेपाली राजनीतिमा सबैभन्दा बढी पव्लिक स्पेस प्रचण्डले नै कव्जा गरेका छन् । सबै कुरामा क्रमभङ्ग भएपनि प्रचण्ड प्रचार र उनको प्रतापका बारेमा निरन्तरताको निरन्तरता छ । उनको सङ्गठनमा क्रमभङ्ग भएको छ । उनको राजनीतिक दर्शन, आदर्श र रणनीतिमा आङका तान क्रमभङ्ग भएको भएको छ । खानपिन बस–उठ, सरसङ्गतदेखि दैनिकीमा समेत क्रमभङ्ग छ । कतै क्षतविक्षत छ । कतै अत्यासलाग्दो छ । तर प्रचण्ड प्रतापले नेपाली राजनीतिलाई निरन्तरतामा दुई दशकभन्दा बढी जबर्जस्त डोमिनेटेड गरेको छ । शायदै नेपाली राजनीतिक इतिहासमा यसरी एकछत्र, त्यो पनि यति ठूलो प्रतिस्पर्धा र खुलापनका बीचमा दुई दशक बढी कुनै एउटा व्यक्तिबाट राजनीति डोमिनेटेड भएको दक्षिण एशियामा नेहरु–इन्दिराका बाउछोरी पछि प्रचण्डकै रेकर्ड हुनु पर्दछ । यो अलग्गै चर्चाको विषय हो ।

कथा सुरु गरौं प्रचण्ड–बाबुराम र ओलीसँगको सङ्गत र उनीहरुको चुनावी भ¥याङबाट ।
०४६ सालको परिवर्ततपछि भएको पहिलो आम निर्वाचन २०४८ ताका शहरमा प्रचण्ड र ओलीको कुनै चर्चा थिएन । मदन भण्डारी, मोहनविक्रम, निर्मल लामा र बाबुराम भट्टराई वाम बृतका बहुचर्चित नाम थिए । त्यो बेलाको सिमित मिडिया स्फेअरमा उनीहरुको डोमिनेशन थियो । काङ्ग्रेसले स्वभाविक रुपमा पञ्चायतको उत्तराधिकारमा सत्तामा कव्जा गर्न पुगेको थियो । किसुनजीको चर्चाको शिखर र गिरिजाबाबुको उदयको सङ्क्रमणकालमा गणेशमानजी काङ्ग्रेसबाटै लखेटिंदै थिए । आजको कथा वामवृतमा बढी केन्द्रित भएकाले अर्को कुनै सन्दर्भमा काङ्ग्रेसको अविच्युरीका बारेमा चर्चा गरौंला ।

मेरो स्कुले जीवन सकिंदै थियो, त्यहीबेला राजनीतिको यस्तो लतमा फसेको थिएँ कि अहिले सम्झिंदा पनि म कसरी त्यो एडिक्सनबाट मुक्त भएँ भन्ने नियाल्दा आपैmलाई कहाली लाग्दछ । म संलग्न रहेको पार्टी मसालले ०४८ को निर्वाचन बहिस्कार गरेको थियो । हामी विद्यार्थीहरु जीवन शर्मा, झोकेन्द्र थापा लगायतको साथमा चित्र बहादुर केसी र दीनानाथ शर्माको निर्देशनमा बागलुङमा चुनाव बहिस्कारको गन्तव्इहीन दौडको यस्तो बेग हावाजसरी हेलिएका थियौं कि त्यसको कथा नै विचित्र छ ।
त्यो बेला काठमाडौंमा बाबुराम भट्टराईको व्यापक चर्चा थियो । त्यही बेला बाबुरामले मोहनविक्रमसँग सम्वन्ध विच्छेद गरेर प्रचण्ड र निर्मल लामाहरुसँग घरबार बसाल्ने तरखर गर्दै थिए । त्यही मेसोमा उनी बागलुङ आएका थिए । म बागलुङमा मसालको चर्को केटाको रुपमा कार्यालयमा थिएँ । उनी त्यो बेलाका बागलुङका चर्चित दुई वकिलमध्येका एक ऋषिरामको सम्पर्कबाट त्यहाँ आएका थिए । शायद उनले विर्सिसके होलान् । मैले त्यहीं बाबुरामसँग अलिक लामो बचकना सवालजवाफ गरें । पछि काजी गाउँलेको ल फर्ममा लगिदिएँ । उनी त्यहाँबाट बलेवा दीनानाथजीको म गए । त्यहीं उनीहरुको ठाकठुक प¥यो । पछि नारायणस्थानका स्थानीय मसालका म जस्तै उदण्ड कार्यकर्ताले उनलाई लखेटे । केही समयमा उनले अलग समूह बनाएर तत्कालीन एकताकेन्द्रमा मिसिए । त्यही बिन्दुबाट बाबुरामजीको प्रचारले शिखर छोएको आजपर्यन्त उही गतिमा यथावत स्पेस पाइरहेकै छ । तर त्यो बेला अहिलेका प्रचण्ड (त्यो बेलाका ‘विश्वास‘बाट बदलिएर ‘निर्माण‘ बनेका थिए) को कुनै नामो निसान थिएन बाहिरतिर । यद्यपि उनको पार्टी त उनले संयोगवस ०४६ सालमा कव्जा गर्न पुगेकै थिए । त्यो कव्जा आजसम्म कायम राखेका छन् ।

बहुदलपछिको पहिलो आम निर्वाचन मुख्यरुपमा मदन भण्डारी डोमिनेटेड थियो । परिणामले झनै पुष्टि ग¥यो । काङ्ग्रेसभित्र गिरिजाबाबुले किसुनजीलाई हराइदिए । काठमाडौंदेखि वाशिंगटनसम्म मदन भण्डारीको चर्चा भयो । त्यसको किनारामा बाबुरामको प्रचार कायमै थियो एक ‘रेडिकल‘ बुद्धिजीवी र तत्कालीन संसदीय व्यवस्था मिल्काउन खोज्ने नेपाली चेग्वोभाराका रुपमा । उनको पार्टीभित्र भने प्रचण्ड–वैद्यहरुको निसानामा परेर ०४७ को मायापिरती घृणामा बदलिने तरखरमा रहेछ ।
संयोगवस एक दिन म काठमाडौं गएका बेला दीननाथ सरले (त्यो बेला मसालका सबै कार्यकर्ता र समर्थकले उहाँलाई गुरु वा सर भन्थे । त्यसो हुनुमा झण्डै दुई दशक लामो शिक्षण कर्म र मसाल पार्टीको सार्वजनिक नाममा मोहनविक्रम र चित्रबहादुर पछि उहाँकै नै थियो) खिचापोखरीमा रहेको एउटा ‘टेव्लोइड‘ पत्रिकाको कार्यालयमा लगेर कमरेड विश्वाससँग चिनाउनु भयो । झण्डै एक घण्टाजति उनीहरुबीच कुराकानी भयो । बाहिर निस्केपछि मोटो मशालका सबैभन्दा ठूला नेता यिनै भएका छन् अहिले किरणजीहरु पछि बसेका छन् भन्नुभयो । शायद मलाई प्रचण्डसँगको त्यो पहिलो भेटले कुनै प्रभाव पारेन । पातलो मसाल र मोटो मशालका बीचमा यति धेरै पूर्वाग्रहको पोको थियो कि त्यसको चर्चा गरी साध्य छैन । त्यो बेला प्रचण्ड म जस्तै ख्याउटे थिए । दारी जुँगा असरल्ल नै थिए । तर पोशाक भने सफाचट थियो । मैले नोटिस गरेको त्यत्ति हो ।
काङ्ग्रेस सरकार ढलेर मध्यावधि निर्वाचन भयो । त्यतिन्जेल मदन भण्डारीलाई त्रिशुलीमा बगाइसकेका थिए । त्यसको पराकम्पनले देश नै हल्लाएको थियो । त्यसको लाभमा एमालेले सरकार बनायो । त्यो सरकारमा गृहमन्त्रीका रुपमा अहिलेका केपी शर्मा आली त्यो बेला खड्गप्रसाद शर्मा ओलीका नामले उदाए । खड्गप्रसाद सुन्दा नाम नै कस्तो कस्तो लाग्ने । तर उनलाई उनको नामले भन्दा बढी थरले चिनाउन थाल्यो । पछि त उनले वैधानिक नाम नै ‘केपी शर्मा ओली‘ बनाए । शक्तिको स्वादले नामै पनि बदल्न सकिन्छ । नाममा फुर्को थप्न पनि सकिन्छ जस्तो कि पुष्पकमल दाहाल ‘प्रचण्ड‘ । जब कि एमालेका कुनै पनि नेताको नाम बदलिएन । ओलीको बदलियो । त्यसैगरी माओवादीमा बाबुरामको लालध्वज हरायो । रामबहादुरको बादल विलालयो । बैद्यको किरण देखा नै परेन । गजुरेलको गौरव एक्लै कता हरायो । तर प्रचण्ड पुरानो नाममा थपिएर प्रचण्ड नै रहन पाए नागरिकतामा समेत । यो पनि एक विचित्र संयोग हो नेपाली राजनीतिको ।

एमाले सरकार ढलेर यिनै देउवाको नेतृत्वमा पहिलो गठबन्धन सरकार के बनेको थियो । प्रचण्ड–बाबुरामको जोडीले बम पड्काउन थालिहाले । तर पनि प्रचण्डको कुनै चर्चा थिएन । सहरमा बाबुरामको नै एकछत्र चर्चा मात्र होइन कि त्यो बेलाका पत्रपत्रिकामा सुदूर पश्चिमको कुनै गाउँमा माओवादीका विद्यार्थीले कार्यक्रम गरेको समाचारमा समेत बाबुरामजीकै फोटो प्रयोग हुन्थ्यो । त्यही आतंकले ०५५ मा प्रचण्डको ‘ह्याण्डसम‘ फोटो सार्वजनिक भएको मानिन्छ ।

जब यिनै देउवाले संकटकाल लगाएर माओवादी नेताहरुको टाउकाको मोल तोके त्यही बेलाबाट प्रचण्ड–बाबुराम भन्ने एउटै नामजसरी नेपाली राजनीति र ‘पव्लिक स्फेअर‘मा ‘क्वानइ‘ भएको हो । त्यसयता ‘प्रचण्ड–बाबुराम‘ प्रकरण र उनीहरुका काण्डले नेपाली राजनीतिले कोल्टे फेर्नेदेखि सारा बुहार्तन सहँदै र झेल्दै आएको मान्न सकिन्छ ।
तत्कालीन वाम बृतमा भएका ठूला काण्डहरुमध्ये महाकाली सन्धि प्रकरणमा ओलीजी ‘स्याटेलाइटबाट भारतलाई विजुली बेचेर एक खर्ब २० अर्ब‘ ल्याउने भन्ने खलनायकी विम्वबाट उदाए । ०५४ मा वामदेव काण्ड हुँदा पनि उनको भन्दा बढी माधव–वामदेवहरुको चर्चा भयो । ०६२–६३ को आन्दोलनका बेला पनि ओलीको नकारात्मक विम्व बन्यो । आन्दोलनपछिको सरकारमा उनी उपप्रधानमन्त्री बनेपनि खास कुनै चर्चा भएन । देश दुनिया त पुरै प्रचण्ड–बाबुरामका प्रताप र सात दलीय मुिखया गिरिजाबाबुको कावुमा थियो । आआफ्नो रुचि र गच्छेअनुसार सबैले यिनै दुईथरीको मात्र चर्चा गर्दथे । जबकि त्यतिबेला पनि सबैभन्दा संगठित र जबर्जस्त दलका रुपमा एमाले त थियो नै । तर न माधव मुखियाको चर्चा थियो, न ओली असन्तोषीको ।

ओलीजीलाई मैले उनकै पार्टीको विद्यार्थी संगठन अखिलको बाहिरिया कार्यकर्ता भएको बेला ०५३ सालमा बल्खु परिसरमा भेटेको थिएँ । गज्जब लाग्छ उतिबेलै म लगायतका केही केटाहरुले बल्खु दरबारमा माधव नेपालसँग एकता वार्ताको नौटङ्की समेत गरेका थियौं । अहिले सम्झंदा पनि आफैलाई हाँसो उठ्छ । त्यो बेला ओलीजी विन्दास र अराजक कुरौटे र चुरोटे नेताका रुपमा बल्खुको बार्दली र आँगनमा बसेर माधवहरुको उपहास गर्दथे । उनीहरुका नियम र निर्देशनको उल्लंघन गर्दथे । बल्खु परिसरमा ध्रुमपान निषेधको माधवकृत फर्मानलाई प्रदीप–इश्वरको हेडक्वाटर जोडीले जारी गरेको थियो । त्यसको उपहासका लागि ओलीले मदनको शालिकनेर खुट्टमाथि खुट्टो चढाएर चुरोट सुर्काउँथे । त्यही मेसोमा हामीजस्ता अखिलका केटाहरुलाई गफ दिन्थे । आम सार्वजनिक ‘स्फेअर‘मा उनको कुनै स्थान थिएन भन्दा पनि हुन्छ । तर उनी पूर्व गृहमन्त्री र सदावहार सांसद थिए । उनको सांसदको अविछिन्न यात्रामा ०६४ सालमा माओवादीका उच्छृङ्खल भाइबहिनीहरुले ब्रेक लगाइएिका मात्र हुन् । त्यसको पनि ओलीजीलाई गहिरो चोटको विशाद अझै छ । वाम गठबन्धन प्रकरणका सन्दर्भमा एक दिन ओलीले पुरानो कथा बेलीविस्तार लगाउँदा पहिलो पटक चुनाव हार्दाको पीडा मसँग पनि व्यक्त भएको थियो । पुराना कुरामा तुष लिएर तिनीहरुको तन्तु तन्नम बनाउन पाउँदा ओलीजीलाई अहिले पनि सबैभन्दा बढी आनन्द आउँछ । त्यसको ज्वलन्त उदाहरण नै माधवसँगको ‘सम्झौताहीन सङ्घर्ष‘देखि हालैका घनश्याम र रावल काण्ड हुन् भन्दा बढी हुने छैन ।
यस्तै सयौं कथाका भारी बोकेर सुवास नेम्वाङ, पृथ्वीसुव्वा गुरुङ र शंकर पोखरेलदेखि खगराज अधिकारीहरु ‘ओलीबा‘ को महिमामा कन्ननी कसेर लागेका छन् । शायद यसपटक उनीहरुले आफ्नै कन्ननी कसरी सम्हाल्ने हुन् थाह छैन । सार्वजनिक हुमर्त काढिनबाट यसपटक पनि मित्र विष्णु रिमाल सवैभन्दा बढी सुरक्षित छन् । यसो भन्दा रिसानी भए माफ पाउँ है कणहरु ।

यति भनिसकेपछि कथाको मुख्य भाग त अब बल्ल सुरु हुन्छ ।
गत वाम गठबन्धनका बेला मेरो अनावश्यक सक्रियता र हुटहुटीमा ओलीजीका अन्तरकुन्तर जान्ने मौका मिलेको थियो । उनको शासकीय अवधिमा पनि मैले फट्के किनाराबाट उनको शासन शैली देख्न पाएँ । उतिबेलादेखि नै सबैभन्दा बढी ‘पव्लिक स्फेअर‘ ओगट्नेमा ओली र प्रचण्डको प्रतिस्पर्धा छ । यस्तो अवस्था सिर्जना भएको नयाँ संविधान प्रकरणदेखि नै हो । ओली र प्रचण्डको नेपाली राजनीतिमाथिको हानथाप र छिनाझप्टीले नै वितेको सात वर्ष वितेको छ भन्दा अन्यथा हुने छैन ।
प्रचण्डको सार्वजनिक प्रचारक्षेत्रमाथिको कव्जा त देउवाकृत पहिलो संकटकालदेखि (आजसम्म २०५८ देखि अहिलेसम्म) यताको बीस वर्षभन्दा बढी यथावत छ । प्रचण्डसँगको छिनाझप्टीमा देउवा, ज्ञानेन्द्र, गिरिजाबाबु र रामबरण हुँदै ओली पनि त्यही लाइनमा उभिएका छन् । तर प्रचण्ड एक्लै छन् । ०५८ देखि प्रचण्डसँग जोडिएका बाबुराम ०७२ मा विछोडीएपछि त झनै आमबृत्तमा चर्चाको बादशाह प्रचण्ड मात्रै बनेका थिए । यसपटक पुनः प्रचण्डकै साथमा बाबुराम पनि जोडिएपछि उनीहरुको डोमिनेशन झन बढेको छ । तर वाम गठबन्धन प्रकरणमा ओलीले कव्जा गरेको सार्वजनिक ‘स्फेअर‘ पनि चानचुने छैन । यो रेसमा काङग्रेसीहरु विचरा देखिइरहेका छन् । अझ रमाइलो के छ भने नेपाली मिडिया र बौद्धिक भनिने पव्लिकबृत र संघ–संस्था सबै काङ्ग्रेसी छाताको वैचारिकी बोकेर प्रचण्ड–बाबुराम र ओलीको आभामा रमाउन बध्य छन् ।


यो चुनावमा प्रचण्ड–बाबुरामको प्रचार प्रतापका बारेमा अलिकति कुरा गरौं ।


अघि नै चर्चा गरिसकियो कि दुई दशक बढी नेपाली राजनीति र आम बृत्तलाई कसैले खण्डन गर्न नसक्नेगरी प्रचण्डले कव्जामा लिएका छन् । राजतन्त्रको उन्मुलन र गणतन्त्रको घोषणाको चर्चा गर्ने वित्तिकै त्यसको केन्द्रीय भूमिकामा प्रचण्ड आउँछन् । संविधानसभादेखि सेनामाथि हात हाल्ने प्रकरण उठायो उनै प्रचण्ड नै आइहाल्छन् । त्यहाँ त उनीसँग हक दावी गर्न आउने अर्को कोही नै छैन । दिल्ली–बेइजिङ हुँदाहुँदा वाशिज्ञ््गटनको हस्तक्षेपको कुरा गर्न थाल्यो भने पनि सबैभन्दा बढी प्रचण्ड नै देखा पर्दछन् ।
नेताहरुको खानपिन, उठबस, हाइहेलोदेखि धर्म–कर्म, संस्कार जस्ता कुरा उठाए पनि प्रचण्ड विना त ओलीको महिमा पुरा नै हुँदैन । झनै ओलीले अयोध्याका भनिएका रामलाई अयोध्या नै उठाएर माडीमा ल्याइदिएपछि त उनीहरुको हिन्दूकर्मकाण्डीय बृत्त झन बढेको छ । विडम्वना गिरिजाको निधनपछि कांग्रेसी बृतबाट उपरोक्त चर्चामा सहभागी पात्रको भने सर्वथा अभाव रहँदै आएको छ । ज्योतिषशास्त्र, पुजाआजा र माला पहिरनको कुरा गरेर देउवा र ओलीलाई अघि सार्न खोज्यो, त्यो बहस पनि प्रचण्ड विना खल्लो लाग्दछ । नेपाली लोकोक्ति ‘जस्तो देश उस्तै भेष‘ भन्ने सन्दर्भमा गाउँघरमा हुने चर्चामा पनि टुप्लुक्क प्रचण्डकै अनुहार बढी उपस्थित हुने गर्दछ । झनै भर्खरैमात्र प्रचण्ड गोरखा पुगेर एउटा चुनावी भेलमा धरधरी रोएपछि त उनलाई कसैले माथ गर्ने कुरै भएन । यस्ता रेकर्डमा यस निर्वाचनमा बाबुराम फेरि थपिन आइपुगे । प्रचण्डको जसरी उछितो काढ्नमा र टिप्पणी गर्नमा बाबुरामजीले महारथ हासिल गरेका थिए, त्यो भन्दा कैयौं गुना बढी प्रचण्ड प्रशस्तीमा पनि उनले थेसिस नै लेखेका थिए पहिले नै । झनै यसपटक बाबुराम चुनाव लड्दै आएको निर्वाचन क्षेत्रमा प्रचण्ड पुगेपछि बाबुराम व्याख्यालाई गज्जब मसला मिलेको छ । तर प्रचार भइरहेको छ प्रचण्डको ।
अहिले प्रचण्डका बारेमा ‘चितवन, गठबन्धन र गोरखा‘ केन्द्रित मुख्य प्रचार मसलाका रुपमा सार्वजनिक बृतमा जबर्जस्त उदाएका छन् । त्यसलाई आगोमा घ्यू हाल्ने भनेजस्तै काम फेरि पनि ओलीले नै गरेका छन् । पहिले प्रचण्डलाई पराजित गर्नमा मुख मिठाइरहेका ओलीले चितवनमा निरस्त्र भएपछि त झनै एमाले नै निर्वस्त्र गराउने काण्ड गरेर प्रचण्ड प्रचार र भाष्यलाई बडो सुन्दर तरिकाले स्थापित गरिदिएका छन् ।
प्रचण्डलाई लागेको थियो अनेक कारणले ओली र देउवाका हनुमानहरुसम्मले आफूलाई चितवनमा बदला लिन कुनै कसर राख्ने छैनन् । त्यही बुझेर उनी दुवैथरि सकुनीलाई देखाइदिने भन्दै गोरखा गए । तर ओलीले चितवनमा झुत्ती खेल्ने प्रतियोगितालाई जारी राखेका छन् । प्रतिद्धन्द्धी छैन, तर ओली भिडिरिहेका छन् । चितवन क्षेत्र नं. ३ वाम गठबन्धन गरेर आफ्नो दलले छाड्न परेको विलौना गरिरहेका एमालेहरुलाई ओलीले सूर्य चिन्हमा होइन, माछा चिन्हमा छाप लगाउन फर्मान जारी गरिदिए । विचरा जिल्ला अध्यक्ष न्यौपाने निलो अनुहार बनाएर पल्टन पुगे । प्रचण्डको हुर्मत काढ्नका लागि असली कांगे्रसी दावी गर्ने गगनहरुले ठिक्क पारेको र ओलीले बार्दलीबाट मुख मिठ्याएको पात्रले एमालेलाई नै अझ ओइलाउने बनाउन चितवन २ मा तासासा देखाएको छ । तर प्रचार फेरि पनि प्रचण्डकै भएको छ । केवल दुख के छ भने प्रचण्डले गोरखा पुगेर जनयुद्धका कथा, आफ्नो लगाव, आरुघाटको बसाई सँगसँगै चितवनको विकास र राजनीतिक विनाश दुवैको चर्चा गर्नु पर्ने भएको छ । प्रचण्डको व्यक्तित्वको बारेमा अबको एक महिना टुप्पीदेखिको बल लगाएर चर्चा गर्नका लागि उनका दुई कमाण्डरका रुपमा नारायणकाजी र बाबुराम खटिएकै छन् । शहरतिर देउवाले दुःख ाइरहेकै छन् । हुँदाहुँदा देउवाली ओनसरी घर्तिजस्तो साहसी र विेवेक भएको महिला कोही नभएको भन्दिएपछि भएन त रमिता ? माओवादी आन्दोलनभित्रको यो आफैमा पछिल्लो कालखण्डको रोमाञ्चकारी पहेली हो । धोवीघाटबा शुरु भएको बाबुराम र काजीहरुको जुगलवन्दीमा प्रचण्डलाई थचार्ने चाहना र आशाको चरम निराशा यसपटक गोरखा काण्ड गज्जबले प्रस्फुटन भएको छैन र ? यसको बारेमा चुनावपछि चर्चा गरौंला ।

अब ओली आभा हेरौ ।
नयाँ संविधानप्रकरण देखि आमबृत्तको केन्द्रमा प्रचण्डसँगै ओली पनि उभिएका छन् । कहिले कहिले त प्रचण्डलाई पनि ओझेल पार्न खेजेका ओली पछिल्लो समय भने विचित्र पहेलीले घेरिएका छन् । सत्ता गठबन्धनलाई अपिवत्र र देशघाती तथा अपराधीसम्म भन्न भ्याएका ओलीले उदारताका कारण सूर्य चिन्ह कमल थापालाई दिएर के सन्देश दिन खोजेका हुन् थाहा छैन। यही कुरा चुनावभरि सवैभन्दा बढी प्रचार हुने निश्चित छ । त्यतिमात्र होइन राप्रपासँग तालमेलका नाममा घनश्यामलाई घचेटेर ओलीले के पाए ? अझै अघि बढेर सर्वसम्मत सिफारिश भएका रावलको टिकट खोसेर नवप्रवेशी माओवादी भाइलाई टिकट दिएर ओलीले कस्तो जित हासिल गर्दैछन् ? राजेन्द्र लिङदेन, कमल थापा, दिपक बोहरा एमालेलाई बोकाएका ओलीले एकनाथ ढकाललाई जातिवित्त प्यार जताएर के भन्न खोजेका हुन् ? यति पनि भयो । ‘राष्ट्रघाती, अपराधी र विखण्डनकारी‘ भनिएको उपेन्द्र यादवसँग नारिएर ओलीले मधेशमा ‘कमव्यापक‘ गर्दैछन् कि प्रभु साहहरुलाई लखेटेर ‘पुनमसीको भव‘मा पुग्दैछन ? गठबन्धन विरोधी वैचारिकी निर्माण गररे कोमल ओलीसँगै क्रान्तिकारी एमालेको चुनाव अभियानमा रहेका शंकर पोखरेलले अब ओलीको चातुर्दिक कलाको कस्तो भाष्य निर्माण गर्लान ? यी अहिले ओलीकेन्द्रित प्रश्नमा नेपाली आमवृत्तले मजा मानेर ओलीको नै प्रचार गरिरहेको छ । ओलीकृत महिमा यहाँबाट अरु धेरै अघि बढ्ने निश्चित छ ।
मानिसहरु भनिरहेका छन् चुच्चे नक्सा र उपेन्द्र यादवको कतै भेट हुन्छ कि मुलतवीमा प¥यो ? सूर्य चिन्ह बरण गरेका कमल थापा, अयोध्याको टक्करमा र प्रचण्डलाई पल्याकपुलुक पार्न बनाइएको माडी रामन्दिरको संरक्षणका लागि सूर्य चिन्ह वाहक न्यौपाने भन्दा माछावाला दिनेश कोइरालाको पाउमा चितवन एमालेलाई पठाएर ओलीले गर्न खोजेको के हो ? प्रचण्डमुक्त मधेश बनाउन उकासिइरहेका प्रभु साहलाई धपाएर ओलीले कसको चित्त शान्त पारिरहेका छन् ? यति चाँडै प्रभु साहहरुमा ओलीप्रति किन वितृष्णा आयो ? साहकै अनुसार नव एमाले उपाध्यक्ष बादलकी श्रीमती समानुपातिक सांसदको सूचीमा चढेको उनले पत्रिकामा हेरेर थाह पाउँदा उनी ओलीप्रति अनुग्रहति भए कि आफैप्रति घृणा लागेर टाउको ठोके होलान ? यसो पनि भन्न थालेका छन् एमालेभित्रका टोपबहादुर सहितका एमालेले । ‘श्री ५ को सरकार‘ वाला मणि थापाले सूर्य थापाको प्रचारमा कस्तो गीत रचना गर्ने हुन् हेर्न बाँकी नै छ ।
जे भएपनि यी प्रश्नहरु उठाएर नेपाली आम बृतले ओलीको प्रचारमा नै समय गुजारेको छ । अब ओलीले चुनावी प्रचारका बेला पनि प्रचण्डकै बारेमा र प्रचण्डले ओलीकै बारेमा समय खर्चेर नेपाली राजनीतिको कुरुप वामवृतको गज्जब उदाहरण पेश गर्ने छन् यसपटकको निर्वाचनमा । त्यही मेसोमा रामचन्द्र र गगनहरुले मुख मिठ्याउने र देउवाले चश्मा चलाइरहने पहेली अझ रोचक हुने निश्चत छ ।


बडो तामझामका साथ घोषणापत्र सार्वजनिक गरिएकोक कार्यक्रममा एमाले अध्यक्ष ओलीले सापटीमा मा लिइएका बैंकर मोडरेटर मार्फत लाइभ डिबेटको रहर पूरा गरिरहँदा पनि नाम नलिइकन उनले, चितवन छाडेर गोरखा गएर रोइरहेको, घरभेटीलाई ठेक्का, छोरी र ज्वाईंलाई पद सोपान जस्ता विम्बबाट प्रचण्डमाथि नै खनिइरहेका थिए । भोलिपल्टको एक अड्कोपड्को तेलको धूपजस्तो पत्रिकामा छापिएको अन्तर्वार्तामा पुनः ओलीले घरि प्रचण्डलाई कांग्रेसको पिढींमा ओत लागेको भन्छन्, घरी कांग्रेस पुरै प्रचण्डपथमा बदलिएकोमा पीर गरिरहेका छन् । ओलीको कुन बोली सही हो भन्ने स्वयं ओलीलाई नै छुट्याउन गाह्रो पर्नेगरी अभिव्यक्ति दिएर प्रचण्ड प्रचारको बेगमा हावा भरिरहेका छन् । त्यही मेसोमा बाबुराम भट्टराईको अर्को विजुली अन्तर्वार्ता छापिएकोछ पुरै प्रचण्ड केन्द्रित । त्यसमाथि दुई थान अन्तर्वार्ताबाट प्रचण्डले पनि आफ्नो बारेको महिमालाई बल दिएकै थिए । त्यसभन्दा ठूलो चर्चा त अहिले किन चितवन सुनसान भयो भन्नेमा नेपाली मिडियाको गहिरो चिन्ता छ । स्वयं एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भनिरहेका छन् – प्रचण्ड चुनाव लड्न आएको भए उनलाई हराउने सबै योजना बनाएका थियौं, उनी नभएपनि केही अलमल भएको छ । ‘ मानौं कि चितवन एमाले विरोधी नपाएर विलखबन्दमा परेर कांग्रेसपरित्यक्त उमेद्वारको शरणमा रन्थनिन पुगेको छ ।
यो निर्वाचन मुख्य त दुई कुरामा केन्द्रित छ । एक – कुनै पनि हालतमा विग्रिएका वामपन्थीको संसदमा बहुमत नपुगोस् । दोस्रो – अहिले ओली र प्रचण्डको छाला काढिरहेका लोसपा र जसपालाई मिलाएर पुनः शेरबहादुर देउवालाई नै देशको जिम्मा लगाउन पाइयोस् भन्नेमा सवैखाले शक्ति केन्द्रहरुको जोडबल रहेको छ । यसभित्र मिडिया त पर्ने भइहाल्यो नै । अर्को कथं उपरोक्त कारणले देउवा छैटौं पटक सत्तासिन हुन नसकेमा प्रचण्ड र ओलीकै उछिनापाछिनमा उनलाई प्रधानमन्त्री बनाउने । सम्भवत देश प्रचण्ड र ओलीको प्रचार कव्जामा रहिरहँदा पनि शासन भने देउवाको दाउले जित्ने छ ।
बांकी उपक्रम अर्को भागमा ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board