काठमाडौँ, १६ कात्तिक । टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा भारतले छिमेकी बंगलादेशलाई ५ रनले हराएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा ५ रनले विजयी हुँदै भारत सेमिफाइनल नजिक पुगेको छ ।
जितका लागि १५२ को विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाउन सक्यो । उत्कृष्ट सुरूवात गरेको बंगलादेशले ७.२औँ ओभरमा ओपनर लिटोन दासलाई गुमाउन पुग्यो ।
आक्रामक पारी खेलेका दासले २७ बलमा ३ छक्का र ७ चौकासहित ६० रन जोडे । ७ ओभरमा ६६ रन जोड्दै सानदार सुरूवात गरेको थियो । त्यो समयमा वर्षाको कारण खेल रोकिएपछि १६ ओभरमा बंगलादेशले १५२ रन बनाउनुपर्ने भएको थियो । तर, वर्षापछि भने बंगलादेशले लय पक्रन सकेन ।
वर्षापछि खेल सुरू भएको दोस्रो बलमै लिटन दास रन लिने क्रममा रनआउट भए । लोकेश राहुलले डाइरेक्ट थ्रोमा स्टम्प ताकेपछि दास पेभलियन फर्किनु परेको हो । त्यो विकेट बंगलादेशका लागि घातक बन्यो । त्यसपछि बंगलादेशले लगातार विकट गुमाएको थियो ।
९.१औँ ओभरमा बंगलादेशका अर्का ओपनर नज्मुल हुसैन सान्तो २१ रनमा आउट भए । यस्तै, कप्तान शाकिब अल हसन १३ रनमा आउट हुँदा नुरूल हसन २५ र तास्किन अहमद १२ रनमा अविजित रहे ।
भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २–२ विकेट लिए भने मोहम्मद सामीले एक विकेट हात पारे ।
यसअघि, एडिलेड ओभलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
खराब सुरूवात गरेको भारतका लागि लोकेश राहुल, विराट कोहलीले पारी सम्हाले । कप्तान रोहित शर्मा चौथो ओभरको हसन महमुदको दोस्रो बलमा यासिर अलीद्वारा क्याच आउट भए ।
विश्वकपमा खराब प्रदर्शन गरेका राहुलले भने बंगलादेशविरूद्ध अर्धशतकीय पारी खेले । ३२ बलमा ५० रन जोडेका राहुल साकिल अल हसनको बलमा आउट भए । यस्तै, सूर्यकुमार यादव ३० रनमा पेभलियन फर्कदा विराट कोहली ६४ र रविचन्द्रन आश्विन १३ रनमा नटआउट रहे ।
बंगलादेशका हसन अलीले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए भने शाकिबले ४ ओभरमा ३३ रन दिँदै २ विकेट हात पारे ।
जितसँगै भारत सुपर–१२ अन्तर्गत ग्रुप–२ को शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलमा ३ जित र एक खेलमा हारसहित ६ अंक जोडेको छ । एक खेल कम खेलेको दक्षिण अफ्रिका ५ अंकसहित दोस्रो तथा बंगलादेश ४ अंकसाथ तेस्रो स्थानमा छ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र नेदरल्यान्डलाई ५६ रनले हराएको थियो । तर, दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । भारतले अब आइतबार जिम्बाब्वेसँग खेल्ने छ । भारत उक्त खेलमा विजयी हुँदा सहजै सेमिफाइनल पुग्ने छ ।
टी–२० विश्वकपमा कोहलीको कीर्तिमान
भारतीय पूर्वकप्ता विराट कोहलीले टी–२० विश्वकपमा कीर्तिमान बनाएका छन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका ‘रन मेसिन’ कोहलीले बुधबार बंगलादेशविरूद्ध ६४ रन बनाएसँगै १०६५ रन बनाएर टी–२० विश्वकपमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।
एसिया कप २०२२ मा अफगानिस्ताविरूद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन् ।
टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने श्रीलंकाका महेला जयबर्धनेको रेकर्ड तोडेका हुन् ।
टी–२० विश्वकपको इतिहासमा यसअघि जयवर्धनेले १०१६ रन बनाएर शीर्ष स्थानमा थिए ।
कोहलीले ११२ टी–२० खेलमा ३ हजार ९३२ रन बनाइसकेका छन् । जसमा एक शतक र ३६ अर्धशतक समावेश छ ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्यान्ड्सविरूद्ध उत्कृष्ट पारी खेलेका थियो । पहिलो खेलमा पाकिस्तानविरूद्ध ८२ रनको अविजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्यान्ड्सविरूद्ध ६२ रनमा नटआउट रहे । तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरूद्ध १२ रनमा आउट भए ।
प्रतिक्रिया