७२ सिटको विमानमा एकजना मात्रै यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

काठमाडौँ, १६ कात्तिक । मंगलबार (१५ कात्तिक) साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत् एक अनुभव सेयर गरे । काठमाडौँबाट बुद्ध एयरमार्फत् विराटनगर जाँदै गर्दको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए ।

उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा चर्चा सुरू भएको छ । व्यवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पौडेलले ७२ सिटको जहाजमा एक्लै यात्रा गरेका छन् ।

कहिलेकाहीँ यात्रुले चाहेर पनि टिकट खरिद गर्न नपाएका हुन्छन् । तर, मंगलबार बेलुका ८ बजे बुद्ध एयरको उडान नम्बर यू४ ७१७ को जहाजमा एकजना मात्र यात्रु बोकेर विराटनगर पुगेको हो ।

पौडेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “आज मिति २०७९/०७/१५ काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।”

बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले चाडवाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको जानकारी दिए । अहिले काठमाडौँबाट बाहिर जाने यात्रु नभएको र काठमाडौँ फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ ।

“हामीले कहिलेकाहीँ रित्तो जहाज उडाएको रेकर्ड पनि छ । मंगलबार पनि जम्मा एकजना मात्रै यात्रु हुनुभयो । तर, सेड्युलअनुसार त उडाउनै पर्‍यो,” उनले भने, “एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्रु बोकेर काठमाडौँ आएको थियो ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board