बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा पार्टी परित्याग

काठमाडौँ, १६ कात्तिक । बारा जिल्लामा कार्यरत नेकपा (एमाले)का ७६ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ४ जना मधेस प्रदेश कमिटी सदस्यसहित ७६ जना एमाले नेता कार्यकर्ताले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग घोषणा गरेका हुन् ।

त्यसरी पार्टी परित्याग गर्नेमा धेरैजसो बारा क्षेत्र नम्बर ३ का नेता कार्यकर्ता छन् । पार्टी परित्याग गर्ने प्रदेश कमिटी सदस्यहरू काजी मोक्तान, उमेश कुशवाहा, कलामुद्दिन अन्सारी र प्रदीप साहसमेत छन् । उनीहरू जिल्ला कमिटी सदस्य, पूर्वजिल्ला कमिटी सदस्य, नगर कमिटी र गाउँ कमिटी सदस्यसहित ७६ जना नेता कार्यकर्ताले एमाले परित्याग घोषणा गरेका हुन् ।

७६ जना नेता कार्यकर्ताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम भएको, विचार दर्शनबाट पार्टी स्वलित हुँदै गएको, इमानदार पार्टी सदस्य, मजदुर किसानको विश्वास पार्टीप्रति हराउँदै गएको जस्ता आरोप लगाइएको छ ।

पार्टीमा ४०औँ वर्षदेखि कार्यरत नेतालाई टिकट नदिएर बाहिरबाट आएका टुरिस्ट उम्मेदवारलाई टिकट दिइएकाले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्याग गरेका एमाले नेता कार्यकर्ताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने उद्घोषसमेत गरेका छन् ।

एमालेले टिकट नदिएपछि बारा–३ मा एमाले नेता कलामुद्दिन अन्सारीले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । त्यसैगरी बारा ३ (क)मा एमालेका पुराना नेता नारायण क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अन्सारी र क्षेत्रीले एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमाले परित्याग गरेको विज्ञप्ति जारी गर्नेमा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएका अन्सारी पनि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति