एजेन्सी, १४ कात्तिक । डिफेन्डिङ च्याम्पियन फ्रान्सका स्टार फाउल पोग्बाले यो विश्वकप गुमाउने भएको छन् । चोटका कारण उनले आागामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन् ।
विश्वकपअघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो । तर, घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन् । पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन् ।
“टोरिनो र पिट्सबर्गमा हिजो र आजको चिकित्सा समीक्षा पछि, पउल पोग्बालाई उनको शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने जानकारी दिन अत्यन्त पीडादायी छ,” पोग्बाका एजेन्ट पिमेन्टाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेका छन् ।
उनले अगाडि भनेका छन्, “यसैकारण पोग्बा विश्वकपको विश्रामअघि न त युभेन्टसको टोलीमा सामेल हुन सक्नेछन् न त फ्रान्सको राष्ट्रिय टोलीमै ।”
पोग्बा आफूलाई चाँडो मैदान फर्काउन चाहन्छन् । तर, उनलाई धैर्यता राख्न आवश्यक रहेको उनले बताए ।
पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो । तर, पछिल्लो चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन् ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पाले नोभेम्बरमा अष्ट्रेलियाविरूद्ध हुने पहिलो खेलअघि मात्र खेलाडीको छनोट टुंगो लाग्ने बताएका छन् ।
२९ वर्षीय मिडफिल्डर पोग्बालाई घुँडामा नयाँ चोट लागेको छ । उनी मैदान फर्कन प्रयास गर्दै आएका थिए । सोही कारण इटालियन क्लब युभेन्टस आए पनि उनी सुरूवाती टिममा रहेर खेल्न पाएका छैनन् ।
पोग्बाले फ्रान्सका लागि अन्तिम खेल गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा फ्रान्स ५–० ले विजयी भएको थियो ।
सेप्टेम्बरमा दाहिने घुँडाको शल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो । उनी नोभेम्बर २० सम्म विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको थियो । तर, नयाँ चोटले त्यो सम्भावनालाई समाप्त पारिदिएको छ ।
पोग्बाले विश्वपक गुमाउने भएपछि फ्रान्सलाई अर्को ठुलो झट्का लागेको छ ।
फ्रान्सका एनगोले कान्टे यसअघि नै विश्वकप बाहिर रहने पक्का भइसकेको छ । फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपूर्ण हिस्सा थिए ।
प्रतिक्रिया