एजेन्सी, १५ कात्तिक । चार वर्षको पागलपन करिब–करिब समाप्त भएको छ । दोस्रो चरणको तनावपूर्ण चुनावमा लुइस इनासिया लुला दा सिल्भा राष्ट्रपति जायर बोल्सोनारोमाथि विजयी भएका छन् । लुलाले ५०.९ प्रतिशत मत पाएका छन् । कुनै नाटकीय परिवर्तन वा महिनौँदेखि ब्राजिलमा चर्चा भइरहेकोजस्तो ‘कू’ नभए लुला जनवरी १ मा राष्ट्रपति बन्नेछन् ।
यो काम सजिलो थिएन । गएको महिना बोल्सोनारो युगको सबैभन्दा भयंकर पक्ष अभिव्यक्त भएको थियो । त्यो अवधिमा व्यापक कुप्रचार भयो । कतिसम्म भने लुलाले शैतानसँगसँगै सम्झौता गरेको र शैतानसँग बात मारेको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि उनको टोलीले त्यसलाई अस्वीकार गर्दै स्पष्टीकरण दिनु परेको थियो । उता, बोल्सोनारोले आदिवासीहरूलाई आफूले खाने दाबी गरेको पुरानो भिडिओ फेरि चर्चित बनेपछि नरभक्षणमाथि पनि पर्याप्त बहस भयो । त्यसमाथि सधैँ राजनीतिक हिंसाको खतरा रहिरह्यो ।
हाम्रो सामूहिक मानसिक स्वास्थ्यका खातिर हामीले भन्न सक्छौँ, अन्ततः बोल्सोनारो पराजित भएका छन् । लुलाको जितको अर्थ सिंगो देश उनको पक्षमा उभिएको छ वा वर्कर्स पार्टीको मध्य–वामपन्थी राजनीतिको पक्षमा छ भन्ने होइन । जसको १३ वर्षे शासन २०१६ मा अन्त्य भएको थियो । तर, बोल्सोनारोको सत्तामा गएको ४ वर्षमा हामीले एउटा राष्ट्र कति तलसम्म गिर्न सक्छ भन्ने देख्यौँ । र, हामी त्यो राजनीतिक निराशाको दलदलबाट माथि उत्रिन छटपटाइरहेका थियौँ ।
बोल्सोनारोको प्रशासनका थुप्रै कुरा म बिर्सिन चाहन्छु– ज्यानमारा उपेक्षा, व्यापक भ्रष्टाचार र अतिवाद । सबैभन्दा ठुलो राहतमध्ये एउटा हो– आइन्दा ती उन्मादी बहसहरूमा सहभागी भन्नुपर्ने छैन । अन्ततः ब्राजिल सद्दे अवस्थामा फर्किन सक्छ ।
गएका केही वर्षमा सार्वजनिक बहसका विषय कहाँबाट कहाँ पुगे भन्ने कुरा विश्वास गर्न मुस्किल छ । नौ वर्षअघि ब्राजिली जनता सार्वजनिक यातायात निःशुल्क हुनुपर्ने माग राख्दै सडकमा निस्केका थिए । त्यो सभ्य–नागरिक सोचबाट आज हामी कति दुर छौँ, भनिसाध्य छैन । आज हामी हाम्रो अधिकांश समय विषाणुविज्ञान (भाइरोलोजी)को अस्तित्व छ र जलवायु परिवर्तन हावादारी कुरा होइन भनेर पुष्टि गर्नमा खर्च गर्छौँ ।
हामी सडकमा निस्केर प्रदर्शन गर्न डराउँछौँ । ताकि सरकारलाई कूको प्रयास गर्ने अर्को मौका प्राप्त नहोस् । हाम्रो छेउबाट कारमा पार हुने जुनसुकै व्यक्तिसँग बन्दुक होला भन्ने हामी सोच्छौँ । रातो लुगा लगाउनु भनेको राजनीतिक अभिव्यक्ति हो भन्ने हामीलाई पर्छ । हालै परम्परागत रातो लुगा लगाएका एक क्याथोलिक पुजारीलाई समातेर सोधपुछ गरियो । छिमेकीहरूसँग समाचारबारे छलफल गर्ने हिम्मत हामी जुटाउन सक्दैनौँ । उनीहरूले के भन्लान् भन्ने डरले हामीलाई सताउँछ । यसअघि एलिभेटरहरू यति शान्त कहिल्यै हुँदैनथे ।
सत्य के हो भने ब्राजिलको समाजमा जहिल्यै अनुदारवादी शक्तिको वर्चस्व रहँदै आएको छ । गएको दुई दशकमा भएका कुनै पनि प्रगति सजिलै प्राप्त भएका होइनन् । उदाहरणका लागि बोल्सा फ्यामिलिया नामक समाज कल्याण कार्यक्रम, सार्वजनिक क्षेत्र र विश्वविद्यालयमा भएका सकरात्मक पहल वा समलिंगी विवाहलाई लिन सकिन्छ । ती सबैको चर्को विरोध भएको थियो । तर, ती लडाइँ मध्यपन्थबाट देब्रु ढल्कुवा र दाहिने ढल्कुवाबीच भएको लडाइँ थियो । त्यतिबेला यी दुवै शक्ति लोकतान्त्रिक बहसमा सहभागी हुनसक्ने गरी तर्कसंगत थिए । तर, जब राष्ट्रिय राजनीतिको परिदृष्यमा बोल्सोनारो आइपुगे, तब त्यो अवस्था बदलियो । दबेर बसेको चरम दक्षिणपन्थी अतिवाद पहिले अलिअलि गर्दै र पछि एक्कासी बिस्फोट भयो ।
त्यसपछि दिनदिनै सार्वजनिक बहसको स्वच्छतालाई षड्यन्त्रका दाबीहरूले निल्न थाले । जसलाई सामाजिक सञ्जालले बढावा दियो । त्यस्ता दाबीलाई बोल्सोनारोले उत्प्रेरित गरे । खोपमा नानोबट हुन्छ भन्ने हल्ला वा अमेजन जंगलमा डढेलो लाग्दैन भन्ने हल्लालाई चिर्नमा हामी आफ्नो समय खर्चिन बाध्य भयौँ । यो सारा ऊर्जा राम्रो स्वास्थ्य सेवा र जलवायु परिवर्तन रोक्ने बलियो पहलको माग गर्नमा खर्चिन सकिन्थ्यो ।
तर, बोल्सोनारोले हामीलाई सुख दिएनन्, चुनावसम्मै । निःसन्देश उनको उद्देश्य निरंकुशता लाद्नु थियो । त्यसका लागि सत्तामा टिक्ने जुनसुकै मौका छोप्न उनी तयार थिए । उनको पराजय अत्यन्तै आवश्यक भइसकेको थियो । त्यसैकारण लुलाको उम्मेदवारीलाई यति व्यापक समर्थन थियो । जसमा उनका विगतका प्रतिस्पर्धी पनि सामेल थिए । बोल्सोनारोको पक्ष कि विपक्ष ? यो चुनावी प्रतिस्पर्धा यतिमै सीमित भएको थियो ।
तर, अब सजिलो छैन । किनभने एक त, सामाजिक सञ्जालहरूले मानिसहरूलाई यसरी अतिवादमा पुर्याएका छन् र ध्रुवीकरण गहिर्याएका छन्, त्यसको कुनै ठोस समाधान छैन । दोस्रो, बोल्सोनारोले अनुमोदन गरेका र अघि बढाएका राजनीतिकर्मीहरू राजनीतिक परिदृष्यमा स्थापित भइसकेका छन् । देशभरका २७ गभर्नरमध्ये बोल्सोनारोलाई समर्थन गर्नेहरू दर्जनभन्दा बढी निर्वाचित भएका थिए । र, २७ मध्ये ८ सिट जितेर सिनेटमा बोल्सोनारोको पार्टी सबैभन्दा ठुलो बनेको छ । जो आगामी ८ वर्षसम्म शक्तिमा रहनेछन् ।
संसद्को तल्लो सदनमा पनि चरम दक्षिणपन्थीहरूले आफ्नो प्रभाव बढाएका छन् । ५१३ सिटमध्ये बोल्सोनारोको पार्टीले ९९ सिट जितेको छ । बोल्सोनारो पदबाट हट्लान् तर बोल्सोनारोवाद समाप्त हुने छैन ।
त्यसको आउँदो प्रशासनलाई गम्भीर चुनौती खडा गर्ने छ । थप शक्तिशाली बनेका चरम दक्षिणपन्थीहरू लुलाको बाटोका काँडा मात्र बन्ने छैनन्, तिनले उनलाई मध्यपन्थी पार्टीहरूमा निर्भर हुन पनि बाध्य तुल्याउनेछन् । जसले उनीहरूबीच सहयोग आदानप्रदान (प्रायः भ्रष्ट) गर्ने बाटो पनि खोलिदिने छ । र, ब्राजिलको लोकतन्त्रलाई सुरूवातदेखि भ्रष्टाचारले गाँजेको छ ।
यति हुँदाहुँदै पनि नयाँ राजनीतिक दिशा पक्रिने यो अवसरलाई कम आँक्नु कसैगरी हुँदैन । राष्ट्रपति पदमा आसिन हुन पुगेको दक्षिणपन्थलाई किनारामा ठेल्न सकिन्छ । कम्तिमा पनि हामीले आफ्नो मोटरसाइकल र्यालीमा सहभागीहरूको संख्याभन्दा बढ्दो असमानता र भोकप्रति ज्यादा चासो राख्ने सरकार पाउनेछौँ । यति मात्रैले पनि ठुलो राहत पुग्ने छ ।
अझ महत्वपूर्ण कुरा, ब्राजिलीहरू मुलुकको हाउजिङ समस्या, सार्वजनिक शिक्षा, प्रहरी र नश्लवादजस्ता अत्यावश्यक विषयको बहसमा फर्किन सक्दछन् । सायद हामी आफूलाई चासो भएका विषय (कछुवा, खगोलशास्त्र) मा कुराकानी गर्न सक्षम हुनेछौँ । आखिर, हामी पनि यो पागलपनबाट मुक्त भएर केही आनन्द बटुल्नलायक छौँ ।
(द न्युयोर्क टाइम्सबाट)
प्रतिक्रिया