काठमाडौँ, १५ कात्तिक । भारतीय पूर्वप्रधानमन्त्री स्व इन्दिरा गान्धीकी सल्लाहकार भइ काम गरेको बताउने एक वृद्धाको सुखद् पारिवारिक मिलन भएको छ । ८५ वर्षीय जमुनादेवी दीक्षितको मानवसेवा आश्रमले पारिवारिक मिलन गराएको हो ।
नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि नेपाल आएको समयमा उनी काठमाडौँबाट सम्पर्कविहीन भएकी थिइन् । पारिवारिक मिलनका क्रममा उनकी छोरी सुजता पारसनाथ मिश्रले हर्षका आँशु नै खसाइन् ।
उनले बताएअनुसार माया मारेको आफ्नी आमा मानवसेवा आश्रमको सम्पर्कमा रहेको जानकारी आएपछि परिवार नै खुसीले गदगद भएको थियो । पारिवारिक मिलनका क्रममा उनले भनिन्, “धेरै प्रयास गर्दा पनि भेटिएन । विभिन्न माध्यमबाट खोजी गर्दा यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ गर्दै आश्रमसँग सम्पर्क भयो ।”
आश्रममा महिनौपछिको पहिलो भेटमा आमा र छोरी दुवैको आँखामा खुसीका आँशु चुहिएको थियो । ती महिलाले बताएअनुसार उनी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सल्लाहकारका रूपमा समेत काम गरेकी थिइन् ।
स्व गान्धी सन् १९६० देखि १९८४ सम्म कांग्रेस आईको अध्यक्ष हुँदा उनी सन् १९७४ देखि ८४ सम्म सल्लाहकार थिइन् । सन् १९८० देखि ८४ सम्म गान्धी प्रधानमन्त्री बन्दा उनी सल्लाहकार थिइन् ।
आश्रमको संरक्षणमा रहेको आमालाई लिन सुजता मुम्बइबाट काठमाडौँ आएकी थिइन् । एकरात मानवसेवा आश्रमको काठमाडौँ रानीवन सेन्टरमा बिताएपछि अर्को दिन बिहानै उनीहरू मुम्बइका लागि प्रस्थान गरेका थिए ।
८५ वर्षीया वृद्धा महिलाले पशुपति मन्दिर अगाडिको सडकमा खुट्टा भाँचिएको अवस्थामा भेटिएपछि नेपाल प्रहरीको सहयोगमा ट्रमा सेन्टरमा लगिएको जानकारी दिइन् । उपचार भइरहँदा उनको सम्पर्कमा कोही नआएपछि ट्रमा सेन्टरले एम्बुलेन्समा राखेर आश्रममा ल्याइदिएको आश्रमले जनाएको छ । उनलाई ट्रमा सेन्टरले मिति २०७९ जेठ ३० गते आश्रम ल्याएको थियो ।
उनी अहिले परिवारसहित भारत, मुम्बइमा बस्छिन् । उनको पारिवारिक अवस्था राजनीतिक थियो । उनका परिवारका सदस्य स्व उमाशंकर दीक्षित भारतीय कांग्रेसका नेता थिए ।
प्रतिक्रिया