पाँच दलीय गठबन्धन रुपन्देही–३ को संकल्पपत्र सार्वजनिक

भैरहवा, १४ कात्तिक । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को पाँच दलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । ‘समुन्नत नेपाल, सम्पन्न नेपाली’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको संकल्पपत्रमा भौतिक पूर्वाधारका साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, खेल, वातावरण विकासमा जोड दिइएको छ । संकल्पपत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणको परिकल्पना गरिएको छ । यसका लागि यथाशीघ्र डिपिआर गरी निर्माणको थालनी गर्ने संकल्पपत्रमा उल्लेख छ ।

तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा/रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ । यस क्षेत्रमै विवादित रहेको मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गर्ने विषय संकल्पपत्रले समेटेको छ । औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमूना औद्योगिक क्षेत्रका रूपमा विकास गरिने र त्यस क्षेत्रका बासिन्दाहरूको रोजगारीको सुनिश्चितता गरिने संकल्पपत्रमा लेखिएको छ ।

६६ बुँदे संकल्पपत्रमा बेलवास–बेथरी सडकको स्तरोन्नति, बेलहिया बुटवल खण्डमा रहेको छ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ । यस्तै ‘मर्चवारदेखि मुस्ताङसम्म’ भन्ने सडक निर्माणलाई विशेषरूपमा प्रारम्भ गर्ने वेथरी, मैनहिया, हर्नैया, दयानगर–छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्र बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्र गरिने लेखिएको छ ।

संकल्पपत्रमा बुटवल–भैरहवा–सुनौली राजमार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिकाभित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णयहरू गर्ने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सञ्चालन थप गरिने संकल्पपत्रले समेटेको छ ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तरवृद्धि गर्ने, यज्ञोदय दूधनाथ थारू बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

यस क्षेत्रलाई कलाकारिताको केन्द्र बनाउन संगीत एकेडेमीको निर्माण, डण्डा खोलामा कोरिडोर निर्माण, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो ‘अन्न भण्डारण गृह’ निर्माण गरिने संकल्पपत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले विकासका धारणामा ठूलो रूपान्तरण भइरहेको बताए । उनले भौतिक पूर्वाधारका साथै मानवीय र सामाजिक विकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए । उनले संकल्पपत्र रुपन्देहीको बृहत्तर विकासका लागि भएको बताए । अहिले ठुलो अस्पतालले मध्यमवर्गीय परिवारलाई गरिबीको रेखामुनि धकेलिरहेको खाणले जिकिर गर्नुभयो । विपन्न नागरिकको उपचारका लागि अस्पतालहरूमा निर्धारण गरिएको निःशुल्क उपचारको कोटालाई प्रभावकारी ढंगले लागु गर्न जोड दिइने उनले बताए ।

उनले रुपन्देही नै आफ्नो राजनीतिको केन्द्र भएको बताउँदै रुपन्देहीको विकासमा लागिरहने प्रतिबद्धता जनाए । भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्तर्राष्ट्रियस्तरको नगर बनाउने प्रतिबद्धता जनाउँदै उनले यसका लागि सिद्धार्थ चक्रपथको अवधारणा अघि सारेको जनाए । खाणले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकाले देखिने गरी जनताको अवस्थामा परिवर्तन ल्याउने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board