केपी ओली दुईतिहाइ जनमत सम्हाल्न असफल : मन्त्री पौडेल

बागलुङ, १४ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले दुईतिहाइको जनमत सम्हाल्न असफल भएको आरोप लगाएका हुन् ।

“तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,” उनले भने, जनमतबाट प्राप्त भएको दुईतिहाइको सरकार सञ्चालन गर्न उहाँ असफल हुनभयो ।”

उनले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवारलाई मतदानगर्न आग्रह गरे । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ,” उनले भने, “राजनीतिक स्थायीत्वका लागि चुनावपछि गठबन्धनको सरकार बन्छ ।”

मन्त्री पौडेलले बाचुन्जेल बागलुङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गरे । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।

आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका बाँचाहरु अब पूरा गर्ने विश्वास व्यक्त गरे । उनले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताए ।

उहाँले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्‍यो,” उनले भने, “यो प्रणालीमा भएका कमीकमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौँ ।”

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिका स्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क बनाउने आश्वास दिए ।

बागलुङ–२ प्रदेश क का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जितबहादुर शेरचनले बागलुङ दुईको विकाशका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने बताए । “स्थानीय तह, प्रदेश र केन्द्रमा गठबन्धनको सरकार हुन्छ,” उनले भने, “यहाँको विकाशका लागि हामी सहकार्य गरेर अघि बढ्छौँ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति