गृहमन्त्रीको निर्देशनपछि कालीकोट बिष्फोटका घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बिष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

त्यहाँ बिष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले जानकारी दिए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम बिष्फोट भएको प्रजिअ शर्माले बताए । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।

रासस कालीकोट समाचारदाताका अनुसार नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो बिष्फोट भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति