काठमाडौँ, ३ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्रि भिसा, फ्रि टिकट’को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहितविपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।
स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ ।
आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण नेपाललाई आयोगले स्पष्टीकरण सोधेको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरूद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । कानुनअनुसार आचारसंहिताविपरीतको काम गर्ने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने छ भन्ने व्यवस्था छ ।
आयोगले एकीकृत समाजवादी अध्यक्ष नेपालबाट निर्वाचन सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिकरूपमा प्रलोभन देखाउने काम गरेकाले सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो ।
प्रतिक्रिया