राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग : देउवा, एमालेको प्रतिगमनकारी गठबन्धन : प्रचण्ड

काठमाडौँ १ कात्तिक : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन् । उनले पूर्वप्रधानमन्त्री केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको बताए ।

सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गरे । ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो(यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं ।राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ देउवाले भने, ‘त्यही काम बिहान ६/७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’

प्रधानमन्त्री देउवाले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताए । ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । कुरा गर्ने मान्छेले जे पनि भन्छन् । तर, कुरामात्रै गरेर हुँदैन । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने, ‘निर्वाचन भनेको आवधिकरुपमा हुने हो, जहिले पायो त्यहीले भोट हाल्न पाइँदैन । ओलीजीले त दुई वर्षअघि नै चुनाव गर्न खोज्नुभएको थियो । मलाई सबै साथीहरूले, जनताहरूले यो कुरा बुझ्नुपर्छ लाग्दछ ।’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए । ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’

उनले नेपालले बिजुली बेचेर मात्रै पनि आर्थिक समृद्धि गर्न सक्ने बताए । ‘भारतले बिजुली किन्ने सम्झौता गरेको छ । धेरै ठूलो स्रोत हामी कहाँ छ । हामीले ठूलो मात्रामा विद्युत् उत्पादन गरियो त्यसलाई भारतसँग विक्रीमात्रै गरेर पनि हामी थोरै समयमै आर्थिकरुपमा सबल बन्ने आधारहरू बनेको छ,’ उनले भने ।
सोही कार्यक्रममा
राजावादी र देश विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाएका छन् । चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको दाहालको आरोप थियो ।

ललितपुरमा कांग्रेस नेतृत्वको चुनावी गठबन्धनको कार्यक्रममा मंगलबार दाहालले उक्त कुरा बोलेका हुन् । ुहाम्रो त गठबन्धन होइन, तालमेल मात्रै हो भनेर विपक्षीले भन्ने गरेका छन्, तर त्यो गठबन्धन नै हो । राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्त्वहरूस प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएकव छ, दाहालले भने, कस्ता अनुहारहरू छन्, कस्ता भाषा बोल्छन् तिनीहरूको गठबन्धन । हाम्रो क्लियर छ, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समानुपातिक, समावेशी मान्यता सहित संघीयताको रक्षा गर्ने क्लियर उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट गरेका थियौं, गठबन्धन सरकार बनाउनको लागि मात्रै, सत्ताप्राप्तको लागि मात्रै होइन ।

मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै दाहालले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने बताए । उनले गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको बताए । देशलाई निरंकुशता र अराजतकताको भूमरीमा हाल्ने प्रवृत्तिलाई पार्टी र संसदीय दलको नेताबाट निकालेको उनको भनाइ थियो । वैधानिक संस्थाका अवैधानिक सेटिङले माधवकुमार नेपाल र आफूलाई दुई ठाउँमा बनाइदिएको दाहालको भनाइ थियो । ुयो एउटा सामान्य खालको चुनाव होइन । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, देशका सबै उत्पीडित जाति, वर्ग, क्षेत्र समुदायलाई समावेशी, समानुपातिकसहित स्थापित भएको, लोकतन्त्रको रक्षा गर्ने कि यसलाई उल्ट्याउन दिने भन्ने ठूलो लडाइँजस्तो भएको छ, उनले भने, हामी राजनीतिक ब्याटल लड्दैछौं । त्यसो त हामी ब्यालेटबाट लड्दैछौं । ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैछौं । त्यसकारण यसलाई सामान्य नसोचियोस् भन्ने अपील गर्न चाहन्छु । यो राष्ट्रको एकता, लोकतन्त्रको परिवर्तनको रक्षासँग सम्बन्धित मुद्दा छ । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मंसिर ४ गते हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति