एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा जाँदै छन् ।

एमाले पोलिटब्युरो सदस्य एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार दिउँसो १ः४५ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुने छन् । त्यसपछि नेताहरूसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

भोलि बिहान ११ बजे क्षेत्र नम्बर १ धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने छन् । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा क्षेत्र नम्बर ५ स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ भरीका कार्याकर्ताहरूको उपस्थिति रहनेछ ।

बिहीबार जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक–३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए ।

अध्यक्ष ओली बिहीबार दिउँसो २ः५० बजे भद्रपुरबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति