विश्वको ध्यान आकृष्ट गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन, योजना सिंगो शताव्दीको

टिप्पणी : काठमाडौं ।
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन चलिरहेको छ । सत्तारूढ चिनियाँ पार्टीको यो महाधिवेशन धेरै चर्चामा छ, जसरी सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन ९१४–२५, फेब्रुअरी, १९५६० पनि चर्चित बनेको थियो । यद्यपि, यी दुवै महाधिवेशनको परिवेश तात्कालिक र हालको परिवेश भिन्न छ । सोभियत कम्युनिस्ट पार्टीको त्यो महाधिवेशन सोभियत संघ विघटनको ९सन् १९९१० सैद्धान्तिक वैचारिक बीजारोपण त्यही पार्टी कांग्रेसमा रोपिएको मानिन्छ । अहिले हुँदै गरेको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन यसकारण बढी चर्चामा छ कि चिनियाँ‘ चरित्रको समाजवाद’ अब पनि अर्बपतिहरू उत्पादन गर्ने पुँजीवाद भइरहने कि वास्तविक समाजवादतर्फ फड्को मार्दै जाने भन्ने आन्तरिक रस्साकस्सीलाीई समेत सम्वोधन गरेर सम्पन्न हुने दावी छ ।
चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा हिजो (अक्टोबर १६) बाट त्यहाँको सत्तारुढ पार्टीको महत्वपूर्ण २०औँ राष्ट्रिय अधिवेशन सुरु भएको छ । अधिवेशनले उच्च नेतासहित राष्ट्रपति सी जिनपिङको स्थान पार्टीभित्र थप सशक्त बनाउने अनुमान गरिएको छ । उनी विगत केही दशकदेखिको परम्परा तोड्दै तेस्रो कार्यकालका लागि पार्टी प्रमुख चुनिने आकलन छ ।

अधिवेशनको कार्यसूची
तियानमेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा सुरु भएको करिब २३ सय प्रतिनिधिमण्डलको भेला एक साता चल्नेछ । उनीहरूमध्येबाट २०५ जनालाई पार्टीको केन्द्रीय समिति छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछ र पोलिटब्युुरोले स्थायी समितिका सदस्य छान्नेछ । स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन् । उनीहरू सबै पुरुष हुन् ।

तेस्रो कार्यकालको नयां सुरुवातमा सी जिनपिङ
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकालको अनुमति दिने अपेक्षा गरिएको छ । सन् २०१८ मा संविधान संशोधन गरी दुई कार्यकालको सीमा हटाएर ६९ वर्षीय सीलाई जीवनभर सत्तामा रहने बाटो खुलाइएको थियो । तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा सीको पकड अझ बलियो हुनेछ । हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष हुन ।

सीले सेना र प्रहरीजस्ता महत्वपूर्ण संस्थाहरूमा आफ्नो शक्ति सुदृढ पारेका छन् भने प्रतिद्वन्द्वीलाई भ्रष्टाचारविरोधी अभियानमार्फत निर्मूल गरेका छन् । उनले सन् २०१७ मा चिनियाँ संविधानमा आफ्नो राजनीतिक लेखन– चिनियाँ विशेषतासहितको समाजवादलाई ‘सी जिनपिङ विचार’ भनेर लेखाउनेसम्मको सफलता हासिल गरेका थिए । चीनका थुप्रै शीर्ष नेताहरूले कम्युनिस्ट पार्टीको माक्र्सवादी–लेनिनवादी सिद्धान्तको दिशानिर्देशन गर्ने कृति लेखेका भए पनि माओ, देङ र हाल सीले मात्र संविधानमा आफ्ना नाम समावेश गरेका छन् ।

‘राजनीतिक शक्तिमा आफ्नो पकडमा सी जिनपिङले कुनै गम्भीर चुनौती सामना गरेको देखिँदैन र पार्टीका अधिकांश एलिटको समर्थन उनैलाई छ । फलस्वरूप उनले लगभग निश्चित रूपमा तेस्रो कार्यकाल सुरक्षित गर्नेछन् । सीले आफूलाई माओ र देङ सियाओपिङजस्ता कम्युनिस्ट पार्टीका मुख्य नेताहरूको स्तरमा वा त्यसभन्दा पनि माथि राखिसकेका छन्,’ अमेरिकास्थित सेन्टर फर एडभान्स्ड चाइना रिसर्चका विश्लेषण निर्देशक ब्रक इर्डहल बताउँछन् ।

केही विश्लेषकका अनुसार कम्युनिस्ट सरकारको वैधता विशेषतः आयमा निरन्तर वृद्धि र चिनियाँ कामदारका लागि राम्रो रोजगार प्रदान गर्ने क्षमतामा निर्भर छ । आगामी पाँच वर्षको आर्थिक प्रदर्शनले सीको सफलता असफलता निर्धारण गर्नेछ । अधिवेशनले केन्द्रीय बैंकका गभर्नर र प्रधानमन्त्रीलगायत प्रमुख आर्थिक निकायका नेतृत्व बदल्न सक्छ ।

यसकारण महत्वपूर्ण छ यो महाधिवेशन
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र बढ्दो सैन्यशक्ति भएकाले त्यहाँको सत्तारुढ दलको अधिवेशनलाई विश्वले ध्यान दिएर हेरिरहेको छ । यस अधिवेशनले चीनको आगामी पाँच वर्षको दिशाको खाका तयार पार्ने भएकाले पनि यसमा धेरैको चसो छ । तथापि पश्चिमा विश्लेषकहरू भने यस महाधिवेशनबाट चीन थप अधिनायकवादी मार्गमा लाग्ने भविष्यवाणी गर्दै छन् । चिनियाँ कम्युनिस्ट पार्टी नौ करोड ६० लाखभन्दा धेरै प्रतिबद्ध पार्टी कार्यकर्ता र जमिनीस्तरमा ४९ लाखभन्दा धेरै संगठन भएको पार्टी हो ।

महाधिवेशन हलमा सम्वोधनका लागि अघि बढ्दै सी : फोटो एजेन्सी

लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएसएस)का प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा तानाशाही शासन थियो । हामीहरू अझै पनि त्यहाँ पुगिसकेका छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ ।’ उनका अनुसार अधिवेशनले पार्टीको विधान परिमार्जन गर्दै ‘सी जिनपिङ चिन्तन’लाई पार्टीको निर्देशित दर्शनको रूपमा थप्नेछ । सीको नेतृत्वमा चिनियाँ अधिकारीले विभिन्न क्षेत्रका ठूला कम्पनीमा दमनकारी कदम चलाए । त्यो दोहोरिरह्यो भने चीन प्रभावकारी ढंगले एक तानाशाहीतर्फ अघि बढ्नेछ,’ प्राध्यापक साङ भन्छन् । चीनको स्टेट काउन्सिलका पूर्वकाउन्सिलर हेनरी याओहुई वाङ भने चीनलाई समृद्ध र आधुनिक समाज निर्माण गर्ने श्रेय सीलाई दिनुपर्नेमा जोड दिन्छन् । उनी चीनको शासनशैली फरक भएको कुरा स्विकार्नुपर्ने बताउँछन्।

आइतबारबाट अधिवेशन सुरु हुँदै गर्दा सन् १९४९ देखि चीनमा शासन गरिरहेको पार्टीले पछिल्लो ३० वर्षयताको सबैभन्दा कठिन आर्थिक चुनौतीको सामना गरिरहेको छ । यो वर्ष चीनको कुल गार्हस्थ उत्पादन ९जिडिपी० वृद्धिदर दुुईदेखि तीन प्रतिशतमा सीमित हुने अनुमान छ, जुन विगत दशकको चीनको वृद्धिदरको तुलनामा उल्लेख्य कम हो । वृद्धिमा गिरावटको मुख्य कारण सरकारले अंगीकार गरेको शून्य कोभिड नीति, युक्रेन युद्ध सिर्जित मूल्यवृद्धि र निजी क्षेत्रमाथि पार्टीको कडाइलाई बताइँदै छ । संसारका अधिकांश देशहरू सामान्य अवस्थामा फर्किए पनि महामारी नियन्त्रण गर्न चिनियाँ अधिकारीले कठोर लकडाउन, सामूहिक परीक्षण र लामो क्वारेन्टिनजस्ता उपाय अझै कार्यान्वयन गरिरहेका छन् । सेनझेन र चेङडु सहित ७० भन्दा बढी सहर हालैका दिनमा पूर्ण वा आंशिक लकडाउनमा छन् । जसका कारण दसौँ लाख मानिस र ठूलो संख्यामा व्यवसाय प्रभावित छन् ।

पछिल्लो समय चीन र पश्चिमा मुलुकबीचको सम्बन्ध चिसिँदै गएको छ । हङकङ, सिनजियाङ तथा ताइवानप्रति चीनको बढ्दो आक्रामकताप्रति पश्चिमा मुलुकले असन्तुष्टि व्यक्त गर्ने गर्छन् । राष्ट्रसंघको प्रतिवेदनअनुसार चीनले व्यावसायिक सीप तालिम केन्द्रको नाममा सिनजियाङमा १० लाखभन्दा बढी उइगुर मुसलमानलाई बन्दी बनाएर राखेको छ । चीनले ताइवानलाई अलग शासन रहेको आफ्नो एक विद्रोही प्रान्तको रूपमा हेर्छ । उसले एक दिन ताइवान आफ्नो शासनमा ल्याउने विश्वास लिएको छ । सी जिनपिङले २०औँ अधिवेशनको स्वागत सम्बोधनमा पनि यो भनाइलाई कडा रूपमा दोहोर्‍याए । सुरक्षा विश्लेषकहरूका अनुसार यदि ताइवान चीनको नियन्त्रणमा आयो भने पश्चिमी प्रशान्त महासागर र त्यसभन्दा बाहिरसम्म अमेरिकी शक्तिमा धक्का लाग्नेछ ।


आन्तरिक तथा बाह्य क्षमता अभिवृद्धिका लागि बेल्ट एन्ड रोड अभियान, एआइआई तथा ब्रिक्स बैंक स्थापना, आर्थिक संकटमा सञ्जीवनी प्याकेजको बन्दोबस्त, १० वर्षकै अवधिमा ९० करोडभन्दा बढीलाई गरिबीको रेखाबाहिर ल्याउने अभियान, सबैका लागि सहज र शुलभ शिक्षा, स्वास्थ्य, तथा सूचना र यातायात सञ्जालको प्रबन्ध साना प्रतिबद्धताले प्राप्त भएका उपलब्धि होइनन् । यी विषयले समृद्धि मात्र होइन, प्रतिस्पर्धीले आफ्ना लागि खतरा महसुस गरे । खासगरी, अमेरिका र नेटोमा आबद्ध मुलुकले यस्तो महसुस गरेको देखियो । ‘नेसनल इन्स्टिच्युट फर साउथ चाइना’का सिनियर स्कलरका मार्क जे भेलेन्सिया लेख्छन्, ‘चीनको छोटो समयमा यो असाधारण प्रगति देखेर नै अमरिकाले इन्डो–प्यासिफिक, क्वाड, अकुसजस्ता सैन्य गठबन्धन बनाएर चीनलाई चुनौती दिइरहेको छ  ।
समाजवादप्रति प्रतिबद्धता भएको पार्टीले निभाउनुपर्ने जिम्मेवारी निर्वाह गर्न चिनियाँ कम्युनिस्ट पार्टीले विचार र कार्यक्रमप्रति प्रतिबद्ध बलियो नेतृत्वको आवश्यकता ठान्यो भने अवश्य पनि सीकै नेतृत्व महाधिवेशनले दोहोर्‍याउला । विश्वास रहेनछ भने दण्डित पनि गर्ला । विगतमा कति महासचिव गलहत्याइए भन्ने नजिर पनि नभएका होइनन् । यतिवेला विश्व खतरनाक विश्वयुद्धतर्फ उन्मुखझैँ देखिन्छ । अमेरिका र नेटो आबद्ध मुलुक आफ्नो आर्थिक तथा सामाजिक नीतिगत असफलता लुकाउन युद्धको खेतीमा लागेका छन् । विश्वका गरिब र दुःखी मुलुकलाई साम, दाम, दण्ड र भेद नीतिमार्फत धु्रवीकरण गराउन तल्लीन देखिन्छन् । यस्तो अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुन गइरहेकोछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति