हरिहरपुरगढी दरबार पुर्निर्माणको गुरुयोजना बनायौँ, अब पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौँ : एमाले उम्मेदवार थापा

हरिहरपुरगढी, २८ असोज । सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अवस्था नभएको बताएका छन् ।

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) वडा कमिटीदवारा आयोजित एक कार्यक्रममा हरिहरपुरगढी पुनर्निर्माणका लागि गुरु योजना बनाएका उम्मेदवार थापाले समग्र हरिहरपुरगढी र मरिण क्षेत्रको विकासका लागि सार्वजनिक गरेको पाँच ‘प’ को विस्तृत विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

हरिहरपुरगढीका स्थानीय बासिन्दाले अंग्रेज फौजलाई फरास्त गरेर लखेटेको इतिहासको चर्चा गर्दै स्थानीयले बगाएको रगत पसिनाको स्मरण गरे । तत्कालीन केपी ओली नेतृत्वको सरकार र कमलामाई नगरपालिकामा एमालेकै नेतृत्वले अगाडि बढाएको सिन्धुलीगढीको पुनर्निर्माणले अहिले देशभरिकै पर्यटक तानिरहेको र नगरपालिकालाई लखौँ आम्दानी भएपनि विगतका यस क्षेत्रका जनप्रतिनिधिले कहिल्यै पनि सरकारात्मक सोच बनाउन नसकेको उल्लेख गरे ।

पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवारको बृहत् परियोजनामार्फत् मरिण र हरिहरपुरगढीमा बृहत्तर विकास र सम्वृद्धिको योजना प्रारम्भ गर्न सकिने बताउँदै एमाले उम्मेदवारसमेत रहेका इञ्जिनियर थापाले समग्र सिन्धुलीको विकासका लागि एमालेका पक्षमा मतदान गर्न अपिल गरे ।

“यस क्षेत्रबाट निर्वाचित भएका विगतका जनप्रतिनिधिले तपाईंहरुलाई झुक्याउनुभएको छ, झुटो बोल्नुभएको छ, हामी जे बोल्छौँ त्यो गरेर देखाउँछौँ, किनकी पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग र सुनकोसी मरिण डाइभर्सन त्यही सत्यको जगमा उभिएको छ र केपी ओलीले सरकारको नेतृत्व गर्दा भएको छ,” उनले भने ।

हामी असत्यसँग कहिल्यै डग्दैनौँ र सधैँ सत्यको पक्षमा उभिएका कारणले सिन्धुलीको विकास र सम्वृद्धिका लागि एमालेले मात्रै काम गर्न सक्छ भन्दै त्यसको उदाहरण सिन्धुलीगढीको युद्ध संग्राहालय, मदन भण्डारी राजमार्ग र सुनकोसी मरिण डाइभर्सनलाई हेरे पुग्ने बताए ।

गरिब तथा विपन्न मजदुर र किसानलाई स्वास्थ्य बिमा, मोतियाबिन्दु, पाठेघरको निःशुल्क अपरेसन, युवाहरुका लागि बिना धितो बिना ब्याज ऋण र जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई आत्मनिर्भर बनाउने जस्ता कार्यक्रमहरु एमालेबाट निर्वाचित स्थानीय सरकारहरुले सञ्चालन गरेको उदाहरण दिँदै एमाले केन्द्रीय सदस्यसमेत रहेका थापाले एमालेको पक्षमा मतदानगरे मात्रै विकास र सम्वृद्धिको ढोका खुल्ने बताए ।

उनले मरिण र हरिहरपुगढी क्षेत्रको विकासका लागि विगतमा पटक–पटक विजयी भएका र फेरि पनि उम्मेदवार भएर जनतामाझ झुक्याउन आएका उम्मेदवाहरुबाट केही पनि नहुने ठोकुवा गर्दै नयाँ अनुहारलाई काम गर्ने मौका दिन आम जनसमुदायमा अपिलसमेत गरे ।

एमालेको अगुवाइमा चल्ने सरकारलाई मार्ग निर्देशन गर्ने बुद्धिजीवी परिषद्को केन्द्रीय इन्चार्जसमेत रहेका नेता थापाले अगाडि भने, “सिन्धुलीमा विकास र सम्वृद्धिको नेतृत्व एमालेको अगुवाइमा मात्रै सम्भव छ र त्यसका लागि सिन्धुलीमा एमालेका उम्मेदवारहरुलाई आम जनसमुदायले विजयी गराउन जरुरी छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board