घनश्यामको ‘एक्ला चलो रे‘ र झलकको सक्रियताको तन्तु

टिप्पणी : हालै दुई वटा गज्ज्ब घटना भएका छन् । झण्डै ४० वर्षको सक्रिय पार्टी जीवनबाट बौद्धिक नेता घनश्याम भुसाल एमालेबाट अलग भएका छन् । उनको उमेद्वारीमा गठबन्धनले काँध थापेको छ । यही मेसोमा शायदै गत एक डेढ वर्षदेखि एमालेको विचारबाट कोसौं टाढा पुगिसकेका बौद्धिक व्यक्तित्व झलक सुवेदी अकस्मात र अमिल्दो लाग्नेगरी एमालेमा सक्रिय भएका छन् । यी दुईको विचार करिब करिब उस्तै रहँदै आएको थियो गत दुई दशकजति । त्यसभन्दा अघि त झनै उनीहरु एकै ठाउँमा उसैगरी सक्रिय नै थिए ।
घनश्यामको घोषित रणनीति थियो – ‘आफूलाई लागेको विचार व्यक्त गर्ने अवसर भइरहेसम्म एमालेबाट किन अलग भएर वैचारिक निकटताका नाममा अरु बढी संगठनात्मक बुहार्तन खेप्ने‘ ? आखिर सबै वाम दल उस्तै उस्तै नै हुन् । यो निष्कर्ष सार त सही र सटिक पनि छ । जे भएपनि ‘पुस ५ काण्ड‘ले तत्कालनी नेकपाका देशभरका नेता कार्यकर्तालाई विक्षिप्त बनाएको थियो । त्यो क्षणमा चर्को विशाद व्योहर्नेमा भुसालहरु नै थिए । र पनि ‘फागुन २३‘ र ‘जेठ ७ काण्ड‘ हुँदा पनि भुसालहरु‘ सौराहा काण्ड‘का सहयात्री बने । त्यही बेला शायद धेरै समयपछि भुसाल र सुवेदीको भेट त्यही सौराहामा भयो ।
यी दुईको दुखान्त र वियोग बारे चर्चा गर्नु अघि आफ्नै कथाबाट कुरा सुरु गरौं ।
मैले राजनीति बुझ्दै गर्दा ०४५ सालमा पीएन क्यामपसमा सुवेदीलाई भेटेको थिएँ । कारण के हो थाहा छैन, त्यसयता म सदा सुवेदीको फ्यान रहें । सम्भवत यो कुरा सुवेदीलाई पनि महसुस छैन होला । ०४५ सालमा मैले सुवेदीलाई पीएन क्याम्पसमा भेट्दा उनी त्यो बेला पञ्चायतलाई चुनौति दिने खतरनाक अखडा मानिने सोही क्याम्पसको स्ववियु सभापति थिए । म लगायतका विद्यार्थीहरु स्कुलको योजनामा बागलुङबाट पैदल हिंडेर शैक्षिक भ्रमणमा पोखरा आएका थियौं । मेरा एकजना प्रिय शिक्षक (डिभी परेर हाल उनी अमेरिकामा बस्नछन्) ले सुवेदीसँग मलाई भेट्ने मेसो मिलाएका थिए । मैले पहिलो पटक पोखरा र सुवेदीलाई एकै पटक भेटेको हुँ । पछि ०४८ सालमा त पीएन क्याम्पस मेरो पनि कलेज बन्यो । अर्को वर्ष म सुवेदीको विरासतमा सुम्पेको स्ववियुको एक कनिष्ठ सदस्य बनें । सभापति रविन्द्र अधिकारी बने । त्यसयता रविनजी र मेरो सम्वन्ध जीवनपर्यनत दाजुभाईको जस्तो बनेको थियो । त्यही स्ववियुको चुनावी कमाण्डर थिए सुवेदी । त्यो बेला मैले उनलाई अलिक नजिकबाट चिनें । त्यसको केही समयपछि सुवेदी एमालेमा किनारामा मात्र पारिएनन् कि उनी निष्क्रिय बन्दै गएर मास्टर बने । ०५४ मा ‘वामदेव काण्ड‘ भएपछि संयोगवस् हामी फेरि नजिक भयौं । पुन ः ०५९ मा दोस्रो वामदेव काण्ड भएपछि हामी सक्रिय राजनीतिबाट विस्तारै टाढा हुँदै गयौं । ०६४ को पहिलो संविधानसभा चुनावपछि सुवेदी र मेरो काठमाडौंमा भेट बाक्लिन थाल्यो र मिलेसम्म आजपर्यन्त जारी छ । समयको धार र वहाव अनुसार भेटघाट पातलिने र वाक्लिने त भइनै रहन्छ ।
संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रणालीका बारेमा सुवेदी मुखर थिए । मैले त्यसमा पम्प भर्ने काम मेरो माध्यमाबाट गरिरहेको थिएँ । सुवेदीसँगको भेटघाटले दायरा बढाउँदै जाँदा देवन्द्रराज पाण्डे, खगेन्द्र संग्रौल, सीके लाल, कृष्ण खनाल, कृष्णज्वाल देखि किशोर नेपालसम्मको चौतारीमा हामी थियौं । यतिभनेपछि सुवेदी कस्ता थिए भन्ने कुरा खोतल्नै परेन । म त्यही हिसाबले सुवेदीलाई चिन्ने बाहेक त्यसभित्र पनि निजी रुपमा सुसुप्त रहेको सुवेदीको एमालेपनका बारेमा मलाई त्यतिसाह्रो जानकारी थिएन ।
केही समयदेखि मिडियामा ‘आइटम डान्स‘का रुपमा प्रयोग गर्नुपर्ने बाध्यतामा धेरै पटक खोजी गर्दा दाजुले कहिले पोखरा, कहिले स्याङ्जा वा कहिले कता भएको बताउँथे । मैले किन कसरी भन्दै खोतल्ने गरेको थिइन । मेरो अनुमान थियो दाजु फेरि ‘व्रिटिश साम्राज्यका नेपाली मोहरा‘ जस्तै कुनै जर्बजस्त सुन्दर रचनाका साथ उदाउने तयारी गर्दैछन् । तर जब घनश्याम काण्ड भयो । त्यसको लगत्तै एउटा अनलाइनले दाजुलाई नै आधार बनाएर उनको चुनावी राजनीतिक चाहको नालीबेली प्रसारण ग¥यो । म अचम्भित भएँ । मेरो अनुमान त गलत रहेछ । हुन त एमालेका उम्मेदवार सिफारिशको क्रममा कास्कीबाट आउने नाममा दाजुको पनि नाम परेको समाचारमा देखेको थिएँ। मलाई लाग्यो पुराना हितैषीले मजाक गरे होलान् । तर होइन रहेछ । दाजु त ‘फागुन २८ काण्ड‘ पछि भएको विधान अधिवेशनकै प्रतिनिधि बनिसककेका रहेछन् । यो आफैंमा विचित्रको घटना थियो।
जति मलाई थाह थियो (शायद यसमा पनि म गलत हुन पनि सक्छु) दाजुको ओली ‘बा‘सँग उस्तो जमेको सम्बन्ध थिएन । तर गण्डकी एमालेदेखि देखि सिंहदरवार वरिपरि घुमिरहने एमालेमा दाजुका आधाभन्दा बढी त समाकालीन थिए, अधिकांश उनका कार्यकर्ता थिए, केही उनका पूर्व नेता पनि थिए । त्यसमध्ये का एक थिए भुसाल पनि । (सबैको नाम लियो भने यो लेखोट विषयान्तर हुने निश्चित छ । माफ गर्नुहोला तपाईंहरु सबैको नाम लिइन । ) तर दाजु सक्रिय थिएनन् । तर पुस ५ काण्डपछि कुन तन्तुले दाजुलाई संगठनात्मक रुपमा एमालेमा सक्रिय बनायो भन्ने कुरा मेरा लागि निकै ठूलो कौतुहलको विषय हो । सक्रिय राजनीति छाडेर कुनै बेला पर्वतको एक निजी क्याम्पसमा मास्टरी समेत गर्न पुगेका, आजीवीका लागि नाम सुन्दै रगत उम्लने नेतृको छवि बनाएकी भाउजुले एक गैरसरकारी संस्थामा काम गर्न अप्ठेरो नामनेको र उनी स्वयं आफू पत्रिकाका अखबारी झ्याउमा रमाउँदै नागरिक अगुवा र बुद्धिजीवीको स्फेयर क्रियट गरेका व्यक्ति एकाएक जस्तो लाग्नेगरी त्यो पनि उनका सबैभन्दा प्रिय अनुयायी रविनजीको निधनको विशादबाट छुटकारा नपाउँदै दाजु त कास्कीबाट चुनाव लड्ने लेठो गर्न तयार भइसकेका रहेछन् । यो अचम्म होइन त ? झण्डै दुई दशकका उनका अक्षरले उनलाई तर्साउने गरी भएको दाजुको सक्रियता मेरो लागि रहस्य नै छ । यस्तै रहनु स्वस्थकर पनि छ शायद । सुवेदीको कणमा परिवर्तन के हो ? के एउटा व्यक्तित्वको अवसान वा पुनउत्र्थानको प्रयास ? वा सार्वजनिक बुद्धिजीवीहरुको अधोपतनको सुरुवात वा राजनीतिको जेनेटिकालिटीले छोड्नै नसक्ने मनोवैज्ञानिक दबाव ? अथवा कुनै बेला उमेरको ५२ टेक्दै गर्दा वामपन्थ बुझेका भन्ने अभिव्यक्तिले ६० को आसपास पुग्दा जिरोबाट र आफैले दुत्कारिरहेको संसदीय अखडामा हेलिनै पर्ने यो कस्तो मानसिक अवस्था हो ? यी प्रश्नको उपयुक्त समयमा यथोचित रुपमा मेरा दाजु तथा नयाँ कणले नै जबाफ दिनसक्नु होला ।
अब कुरा गरौं भुसालजीका बारेमा ।
म छैठौंको विद्यार्थी भएका बेला पाँचौका थोरे नेतामध्ये भुसालजी मेरा लागि आकर्षक व्यक्तित्व थिए । संयोगले ०५४ मा पुन सुवेदीसँगै भुसाल कमरेडसँग पनि भेट भइहाल्यो । ०५९को वामदेव काण्डसँगै कमरेड उतै सक्रिय रहे । ०६२–६३ मा कमरेडले नेपाली अर्थराजनीति नामक पुस्तक लेख्ने बेला हाम्रो अलिक लामो समयपछि भेट भयो । त्यसयता जसो तसो जिवन्त भन्न मिल्नेसम्मको योजनावद्ध नभएर संयोगपूर्ण भेट हुँदै आएको छ । शायद मेरो स्वाभवजन्य कमजोरीका कारणले होला कमरेड भुसाल र मेराबीच अन्तरङ्ग सम्वन्ध भएन । तर मेरा लागि कमरेड भुसाल जहिलेसुकै आकर्षक व्यक्तित्व नै रहे । कमरेड झलनाथ सरकारमा बालुवाटारको मन्त्री भएपछि भने कमरेड भुसाल मेरा लागि त्यति आकर्षक रहेनन् । कारण अनेक छन् । ०६५ को बुटवल काण्डमा हाम्रो अलिक बढी कुरा भयो । कमरेड भुसाल र योगेशजीहरुको जोरजवरजस्तीले तत्कालीन एमालेमा झलनाथको उदय भयो । त्यसले कमरेड भुसालको राजनीतिक जीवनमा निकै ठूलो संजीवनीको काम गरेजस्तो लाग्छ । त्यसयता कमरेड भुसाल नेपाली मिडियामा सदा सुनिने र देखिने भइरहे । त्यसले पनि हामीलाई अलिक नजिक बनायो । ०७५ जेठको नेकपाका काण्डपछि कमरेड भुसालहरुले अख्तियार गरेको तरिकाप्रति म पूर्ण असहमत थिएँ । कमरेडहरुले बच्चा जन्मन नपाउँदै त्यसको मलामी खोजिरहेका थिए । अन्तत पुस ५ पुगेर त्यही भयो । कमरेड भुसालका नेता माधव कमरेडहरुको भूमिका पहिलो दिनबाट नेकपाको मलामी जोहो गर्नेमा योजनावद्ध थियो । त्यसको उत्कर्षमा प्रचण्ड त मिसिएका मात्र हुन् । त्यो अवस्था सिर्जना गर्नमा ओलीको ऐतिहासिक योगदान छ । त्यो अलग्गै चर्चाको विषय हो ।

फागुन २३ काण्डपछि कमरेड भुसाल सेलाए । तर पनि पुन एमालेको मलामी बन्न कमरेड भुसालले अस्वीकार गरेर सवैभन्दा सही काम गरेका थिए । त्यसभन्दा अघि नेकपाको मलामी त भएको जुठो पनि सकिएको थिएन । यदि भुसाल कमरेड मात्र एमालेको मलामी बन्न तयार भएका भए अहिलेको एमाले यही रुपमा रहन सम्भव थिएन । तर माधव कमरेडलाई ‘एक्ला चलो रे, एक्ला चलो‘ भन्ने हरिवंश राय बच्चनको शायरीको पात्र जस्तै छोडिदिएका भुसाललाई त्यसको एक वर्ष पुग्दा नपुग्दै स्वयं भुसालले एक्ला ‘चलो रे‘ पथ अपनाए । अझ रमाइलो त तिनै माधव र प्रचण्डलाई पम्पिङ गर्दा गर्दा ठ्याक्क पानी झर्ने बेला पन्छिएका कमरेड भुसाललाई काँध थाप्न तिनै प्रचण्ड र माधवका साथमा देउवा समेत तयार भए बुटवल १ मा ।
यति भनिसकेपछि यी दुई पात्रका समानता र असमानता के हुन् त भन्ने प्रश्न त उठिहाल्छ । यी दुवै पात्र ०३७ साल देखि ०४७ सालम्म पनि तत्कालीन मालेभित्र एउटै विचार बोक्थे । ०४९ मा मदन भण्डारीकृत जबजका दुवै आलोचक थिए । ०५४ को वामदेव काण्डका कमरेड भुसाल आर्किटेक्ट मध्येका एक थिए भने कमरेड सुवेदी अनुयायी । ज्ञानेन्द्रको प्रतिगमनपछि कमरेड भुसाल माधव–ईश्वरका अधकल्चो प्रतिगमनका हिमायती थिए भने कमरेड सुवेदी चर्को आलोचक । फेरि ०६२–६३ पछि कमरेडहरु एउटै लाइनमा थिए । तर कमरेड भुसाल राजनीतिको संगठनात्मक र राजकीय सिंढी चढिरहेका थिए भने कमरेड सुवेदी श्री सुवेदीमा बदलिने तरखरमा लागिरहेका थिए ।
तर पुस ५ काण्डपछि कमरेड भुसाल स्वयंकृत कर्मबाट छटपटीमा थिए भने झलक दाजु पुरानो कमरेड पहिचानलाई अरु बढी मुखर पार्न एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्दै थिए । जुन महाधिवेशनलाई भुसालहरुले चुनौति दिने दुःख बेसाइरहेका थिए । विजुली गतिमा कमरेड भुसाल कोटेश्वर, बालकोट हुँदै सर्वोच्चमा सशरिर हस्ताक्षर गर्दै दश बुँदेको च्यादरले मुख छोपेर पुन मसीको भवमा लतारिन बाध्य भएका थिए । त्यही बेला कमरेड सुवेदी यी सबै कुरा केही पनि भएका छैनन् जसरी कन्ननी कसेर उम्मेदवार बन्ने जमिनमा डल्ला फोर्दै रहेछन् । त्यो कमरेड सुवेदीको असफल र सम्भवत यो जुनीमा नै असम्भव कृत्य हो । किन कि कमरेड सुवेदी जतिसुकै ‘कण‘को खरानी घसेपनि उनी अब त्यहाँ नम्बरी बन्न सम्भव छैन भन्ने कुरा त यसपटकको लमजुङ काण्डले उनकै नाकमुनि स्पष्ट गरेको छैन र ? यसका भाष्य र कथन त फेरि पनि सबैभन्दा सुन्दर शैलीमा ‘कण‘ सुवेदीले कहन सक्छन् । त्यही नै उनको सबैभन्दा ठूलो खुबी र कण दरिनका लागि डरलाग्दो राजदोष पनि हो ।
भुसाल कमरेडले बीचमा अर्का प्रतिद्धन्दी शंकर पोखरेलसँग समेत लय मिलाउने प्रयत्न गर्दै थिए । त्यसो गर्दा मात्र विष्णु पौडेललाई साइजमा राखेर ओलीमाथि दबाव बढाउन सकिन्छ । त्यसो भयो भने संगठनमा अलिक स्पेस मिल्नेछ । तर त्यो पनि असम्भवप्राय कृत्य मात्र थियो भन्ने पुष्टि हुन धेरै समय नै लागेन । घनश्यामले एमाले परित्याग गरेपछि पोखरेलले भनिदिए ‘उम्मेदवार बन्ने भुसालको योग्यता नै थिएन ।‘ त्यसो भन्दै गर्दा पोखरेलले भुसालले निर्वाचन जित्ने निश्चित भएको बताउन पुगे । त्यसले उनका कार्यकर्ता छविलाल विश्वकर्मालाई कस्तो असर पर्ने हो थाह छैन ।
‘म स्वयमले ४५ वर्षसम्म आनो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने‘ भन्दै कमरेड भुसालले अभिव्यक्ति दिए लगत्तै उनी रुपन्देहीको क्षेत्र नं. १ को सत्ता गठबन्धनको साझा उमेद्वार बनेका छन् । कमरेड पोखरेलको टिप्पणीमा नै भुसालले चुनाव जितिसकेका छन् । चुनावपछि कमरेड भुसालले कुन बाटो लेलान् त्यति धेरै चर्चाको विषय होइन, बरु उनले अघि सार्दै आएको विचारम उनी कहिलेसम्म अडिएलान् भन्ने सर्वाधिक महत्व कुरा होला । यद्यपि कमरेड भुसालको बानी पनि माथितिर केही सम्भ्रान्त बुद्धिजीवीसँग संसर्ग गर्ने र तललितर जानका लागि कथित व्यवासायिक कोटरीमा रमाउने प्रवृत्ति बढ्दै गएको पृष्ठभूमिमा यस्तो शक्ति अभ्यासका इलिमेन्टहरुले अब भुसाललाई कति समयसम्म धान्लान् भन्ने कुराले उनको गन्तव्य निक्र्योल गर्नेछ नै छ ।
एमालेमा यतिबेला धेरै थरि काण्डहरुको चाङ लागेको छ । घनश्याम देखि प्रमु साह हुँदै रुपन्देहीमा नै ५ नं. काण्ड भएको छ । त्यसले चतुर भनिएको एमाले नेतृत्वमण्डलीलाई फतुरमा बदलिदिएको छ । त्यसो त कमल थापा काण्डको पराकम्पन चलिरहेका बेला चितवनजस्तो एमालेको जबर्जस्त ठाउँमा एमाले कांग्रेसी बागीको शरणमा पतन हुने काण्ड भएको छ । एमालेमा भित्रिएको जसपाकाण्डले मोरङ र सुनसरीलाई चुनावसम्म र त्यसको लामोसयसम्म पिरोल्ने निश्चित छ । आम एमालेजनले कामना गरिरहेका छन् कि हेटौंडा वा चितवनमै जसरी काठमाडौं हलोवाला मिश्र काण्ड नघटोस् ।
यी पछिल्ला केही काण्डलाई कमरेड भुसालले मज्जैले फट्कार्न पाए पनि कण सुवेदीले यी काण्डलाई कसरी तर्क देलान् भन्ने यो अवुझको सानो जिज्ञासा छ । आशा छ यस्ता काण्डमा कन्ननी नसुर्केर दाजुले आरामले कुनै ऐतिहासिक उपन्यास पढेर वा देशाटन गरेर बैचारिकी फ्रेस गर्नेछन् भन्दा अन्यथा हुँदैन कि ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board