गोरखा आएपछि मेरो नयां रेकर्ड, म पुरानै साथीहरुको बीचमा आएको छु : प्रचण्ड

काठमाडौं २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं.१ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि छोटो प्रतिक्रिया दिँदै प्रचण्डले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् ।

प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा. बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए ।

‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन,’ उनले भने, ‘परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’

उनले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर आफूले रेकर्ड बनाएको बताएका छन् । ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेस(पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ,’ उनले भने, ‘गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति