सभामुख सापकोटाले गरे चुनाव नलड्ने घोषणा

काठमाडौँ, २३ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताए ।

सभामुख सापकोटाले भने, “आगामी निर्वाचनमा मेरो जित सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहने छु । अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु ।”

निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पुर्‍याउने मतदाता र जनताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाए । उनले भने, “मेरो यो निर्णय निरन्तरतामा क्रम भंगता हो, आशा छ मेरो यो कदमले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्ने छ ।”

सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उनी सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित भएका थिए ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उनले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गरे ।

“राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति