अमलेखगञ्ज दुर्घटना : मृतकको संख्या १८ पुग्यो (अपडेट)

बारा, २२ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराति बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीया प्रितिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा वीरगञ्ज १६ नगवाकी ६० वर्षीय मालतीदेवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबैजनाको सनाखत भइसकेको छ । मुत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी, चितवन कालिका रमाइलो चोक बस्ने शंकर कडेलको छोरा १४ वर्षीय सफल कडेल, पर्सा वीरगञ्ज १६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीया मन्निदेवी चौरासिया, मकवानपुर हेटौँडा ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीया सोस्तिका श्रेष्ठ रहेका छन् ।

यस्तै, बारा कलैया १० की ३५ वर्षीया नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश विक, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुंगाका लालबहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीया अम्बिका कँडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ की १६ वर्षीया प्रितिका चौधरी, बारा स्वर्ण ७ का ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगञ्ज–१६ नगवाकी ६० वर्षीय मालती देवी चौरसिया रहेका छन् ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौँडा र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board