वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जा, २१ असोज । स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ झर्ल्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठुलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए ।

अविरल वर्षाका कारण ठुलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् । दसैँ बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ । अपरेटरलाई खबर गरिएको र उनीहरु बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उनको भनाइ थियो ।

अरु बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दसैँको बेला झनै बढी चाप हुने गर्छ । अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चार÷पाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताउनुभयो । मंगलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board