वर्षाका कारण यसवर्षको दसैँ खल्लो

तनहुँ २१ असोज । गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन् ।

अविरल वर्षाकै कारण ससुराली घर चितवनमा जानसमेत रोकिनुपरेको उनको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दुरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउँछन् ।

कोरोनाका कारण तीन वर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैँ हर्षोल्लास र उमंगका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पिङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं सञ्चारकर्मी विकास खनाल बताउँछन् ।

दसैँको दिन टीका, जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उनको भनाइ छ ।

अविरल वर्षाका कारण दसैँमा पिङ खेलेर रमाइलो गर्ने र साथीभाइसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अवसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।

उनी भन्छिन्, ‘अघिल्ला वर्षको चाडपर्व कोरोना संक्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसवर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board