काठमाडौँ, २० असोज । सिट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेसभित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेलाहरु गर्दै आएका छन् । तर, पूर्वनिर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समूहका शीर्ष नेताहरु भने आइपुगेका छैनन् । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन् ।
समानुपातिक बन्द सूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन पक्षका अनुसार कोइराला समूहका ३० प्रतिशतभन्दा बढीलाई समानुपातिक सूचीमा समावेश गरेको दावी गर्दै आएका छन् तर, कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समूहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन् ।
प्रतिक्रिया