अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार !

अर्घाखाँची, १७ असोज । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा (एमाले) र सत्तागठबन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ ।

प्रतिनिधिसभामा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ । सभापति देउवानिकट मानिएकी भुसाल पार्टीभित्रको गुट समीकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने सम्भावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच अर्घाखाँची नेपाली कांग्रेसले लिने सहमति भएका समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपि स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर

कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेलाबाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउँदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्बल बाँड्न पुगेकी भुसालको सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवैजना पुराना अनुहारको बीचमा स्वतन्त्र उम्मेदवार को आउँछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सञ्जालहरुमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board