बुटवलका सडकमा खुला दुध बेच्न रोक

रुपन्देही, १४ असोज । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताइन् । यस्तै, बैठकले दुग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध विक्रेता, किसानलगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।

रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपन्क्षी विकास शाखा प्रमुख रहेका छन् । बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board