एमालेले अधिकांश उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १४ असोज । नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अधिकांश उम्मेदवारहरू टुंगो लगाएको छ ।

लगातार ८ घन्टासम्म चलेको सचिवालय बैठकले केही ठाउँबाहेकका उम्मेदवार टुंगो लगाएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार मधेस प्रदेश, रूपन्देही ३, ताप्लेजुङलगायतका केही ठाउँमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । यी ठाउँहरूमा थप परामर्शसहित उम्मेदवारीलाई अन्तिम रूप दिने काम अध्यक्ष केपी शर्मा ओलीले गर्ने बैठकले निर्णय गरेको छ । उम्मेदवार टुंग्याए पनि त्यसलाई पार्टीले गोप्य राखेको छ ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही ठाउँमा राप्रपासँग हुन सक्ने तालमेलका कारण पनि उम्मेदवार फाइनल नभएको नेताहरूले बताएका छन् ।

बिहीबार साँझ ५ बजेदेखि अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठक राति १ बजे सकिएको हो । बैठकमा सचिव रघुवीर महासेठले मधेस प्रदेशका विषयमा आफूले निर्णय गर्न पाउनुपर्ने अडान राखेको एक नेताले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board