काठमाडौँ, १४ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् ।
ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मंसिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।
ओलीले देशको अवस्था भयावह रहेको जिकिर गरे । देशको अवस्था देखेर नागरिक दिक्क भएको उनको भनाइ थियो ।
“जनता वास्तवमा देशको हालत देखेर, जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ । यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको चुनाव आइरहेको छ । देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा (एमाले)बाहेक अरूले सक्दैन,” उनले भने ।
उनले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गरे । उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा चुनावले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे ।
प्रतिक्रिया