जसपा एक्लै चुनाव लड्न सक्षम छ : उपेन्द्र यादव

काठमाडौँ, १४ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड टुंगो नलागेको बताएका छन् ।

बिहीबार धनुषाको यदुकुहामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बन्धन गर्दै उनले सम्मानजनक सिट पाएपछि मात्र तालमेल गर्ने बताए । गठबन्धनमा आवद्ध दलहरूले मधेसी जनताको हकअधिकारलाई सम्मान गरी शोषित, पीडित जनताको अधिकार दिलाउने प्रण गरे मात्र चुनावी तालमेल हुने उनले बताए ।

“जसपा हरेक क्षेत्रमा एक्लै चुनाव लड्न सक्षम छ । कसैको बैसाखीको सहारा चाहिँदैन । अहिलेसम्म कुनै तालमेल सम्पन्न भएको छैन,” उनले भने, “हामी खुला छौँ, मिलेर लड्नुस् वा एक्लै लड्नुस् । मैदानमा लड्न जसपा सक्षम, तयार छ र लडेर देखाउँछ ।”

धनुषा क्षेत्र नम्बर २ मा पनि जसपाले उम्मेदवार उठाउने उनले स्पष्ट पारे ।

त्रुटिपूर्ण संविधान लादिएको भन्दै अध्यक्ष यादवले यो संविधान पुनर्लेखन, संशोधन गराउन र जनताका हितमा रूपान्तरण गर्न यो चुनाव संघर्ष रहेको दाबी गरे ।

“संविधान, पुराना कानुन बदल्दै जनताका हित गर्नुका साथै अरू परिवर्तन गर्न बाँकी छ,” उनले थपे, “आज मुलुकमा जुन शासन प्रणाली र स्वरूप छ, संसारका धेरै मुलुकमा प्रयोग भइसकेको छ । नेपालमा पनि भइरहेको छ । यो प्रणाली राजनैतिक, अस्थिरता, सुशासन र समृद्धिको यात्रामा विल्कुल असफल भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”

वर्तमान संसदीय व्यवस्था सत्ताका लागि खसीबाख्राको भाउमा सांसद बिक्री हुँदै आएको उनले टिप्पणी गरे । समानुपातिक निर्वाचन प्रणाली ल्याउनुपर्ने पनि उनको धारणा छ । विश्वका विभिन्न देशमा ५०औँ वर्षदेखि यो प्रणाली सफल भएको उनले दाबी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति