यो चुनावी लडाइँ जितेर एमालेले सरकार बनाउँछ : ईश्वर पोखरेल

काठमाडौँ, १२ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए । उनले भने, “यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाइँको रुपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाइँको रुपमा हामी यो निर्वाचनमा छौँ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे । “गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ,” उनले भने । उनले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताए ।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठुलो पार्टी बन्यो ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए । उनले एकलाखभन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए । “९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ,” पोखरेलले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले उमेरले युवा र बुढो नहुने बताए । “केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।”

नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी एमाले भएको उनको भनाइ छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उनले स्मरण गराए । पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board