पोखरामा भेँडाच्यांग्राका हुल : रोज्जालाई ५० हजार, छोड्डाको ३० हजार

पोखरा, ११ असोज । १० वर्षअघिदेखि बझाङका बमबहादुर बोहराको दसैँ दैनिकी भेँडाच्यांग्रामै बित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडाच्यांग्रा झार्नेबित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै बिक्री हुँदैन । महँगो पर्ने भएकाले पोखरा नै उपयुक्त बजार हो ।’

दसैँले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेँडाच्यांग्राको हुलैहुल भेटिन्छन् । पोखरामा च्यांग्रा संस्कृति धेरै पुरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्यांग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेँडाच्यांग्राको भाउ निकै महँगो छ ।

लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेँडाच्यांग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैँमा भेँडाच्यांग्राको माग बढी हुन्छ । बोहराले ल्याएको हुलमा रोज्जा च्याङग्राको मूल्य ४५ हजार छ । यहाँबाट एउटै च्यांग्राको मूल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।

मुस्ताङको कागबेनीदेखी च्याङग्रा ल्याएर याम्दीमा बिक्रीका लागि राखेका हेम्जाका झपटबहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्यांग्रा बेचेका छन् । ‘रोजेर ३८ हजारदेखि ४६ हजार मूल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो बिक्री हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’

याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनि ल्याएर बिक्री हुन्छन् । मुस्ताङबाट झारिएका भेडाच्यांग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडाच्यांग्रा ल्याइए पनि बर्सेनि हुने मूल्य वृद्धिका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २ सय ५० भेडाच्यांग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मूल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार पर्यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न पर्यो । पालिकालाई कर तिर्न पर्यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महँगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मूल्य पर्छ । दसैँमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैँको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board