काठमाडौं १० असोज । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छन् । गठबन्धनका दलहरूले दाबी गरेका क्षेत्रको संख्या ४०७ भएको छ ।
कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार नेपाली कांग्रेसले १८० प्रदेश सभा क्षेत्र आफूलाई दिनुपर्ने बताएको छ।
यस्तै नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले ७०, जसपाले ५० र राष्ट्रिय जनमोर्चाले ७ सिटमा दाबी गरेका छन्।
‘प्रतिनिधि सभा सिट बाँडफाँटमा जस्तै प्रदेश सभातर्फ पनि दलहरूले सुरूमा धेरै सिट दाबी गरेका छन्। क्षेत्रगत रुपमा छलफल गरेपछि सिट बाँडफाँट टुंगिन्छ,’ ती कार्यदल सदस्यले भने, ‘स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत, २०७४ को चुनावमा प्रदेश सभामा दलका उपस्थिति र ल्याएका मतलगायत विश्लेषण गर्दै निर्णयमा पुगिन्छ।’
मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ।
सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे कुराकानी थालेका थिए। आइतबार दिनभरजसो छलफल गरे पनि सहमतिको खाका प्रस्तुत हुन सकेन।
दलहरूले गत स्थानीय चुनावमा वडा तहमा पार्टीले ल्याएका भोटलगायत प्रस्तुत गर्दै आफ्ना तर्फबाट सिट दाबी गरेका थिए।
प्रदेश सभा क्षेत्रको सिट बाँडफाँट मिलाउँदा प्रतिनिधि सभा क्षेत्र पनि मिल्न सक्ने भएकोले प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटलाई अघि बढाइएको ती नेता बताउँछन्।
‘भोट ट्रान्सफर शतप्रतिशत होस् भनेर प्रतिनिधि सभा र प्रदेश सभामा फरक फरक दललाई टिकट दिने गरी तयारी हुँदैछ,’ ती नेताले भने, ‘जसरी पनि सत्ता गठबन्धनले जित्नुपर्छ भनेर संघ र प्रदेशमा फरक(फरक पार्टीले लिने गरी छलफल गरिएका छन्।’
गत साउन २० मा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए। त्यसयता दिनहुँजसो छलफल भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति सिट लिने टुंगिएको छैन।
‘एकै क्षेत्रमा तीन दलसम्मले दाबी गर्दा सहमति जुट्न सकिरहेको छैन,’ ती नेता भन्छन्।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।
प्रतिनिधि सभातर्फ मधेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत केही क्षेत्रमा विवाद छ।
एबीसी सर्वेक्षण : सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि
प्रतिक्रिया