सन्दीपले भने– चाँडै नेपाल फर्केर झुटा उजुरीको प्रतिवाद गर्ने छु

काठमाडौँ, १० असोज । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरूद्ध परेको बलात्कारसम्बन्धी उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै लामिछानेले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण नेपाल आउन नसकेको बताएका छन् ।

भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको उनले उल्लेख गरेका छन् । उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको पनि लामिछानेले उल्लेख गरेका छन् ।

“मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,” उनले भनेका छन् । यी सबै कुराले आफूलाई मानसिक असर परेको र खराब स्वास्थ्यका कारण आफूलाई आइसोलेसनमा राखेर बसेको उनले बताएका छन् ।

‘झुट्टा जाहेरी’कै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रूपमा प्रभावित भई आफू असन्तुलित अवस्थामा पुगेको पनि सन्दीपले उल्लेख गरेका छन् ।

“झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,” उनले भनेका छन् ।

आफू एउटा गम्भीर षड्यन्त्रको सिकार भएको पनि दाबी गरेका छन् । आफूलाई अपराधी सावित गराउने झुट्टा जाहेरी र प्रपञ्चहरूको कानुनी लडाइँ लड्ने उनको भनाइ छ ।

“ राष्ट्रको लागि सदलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board