सत्ता गठबन्धन दशैंअघि नै सिट बाँडफाँट टुंगो लगाउँदै, आजदेखि प्रदेशको छलफल

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाउन अझै सकस छ । प्रतिनिधिसभाका लागि सिट टुंगो अन्तिम चरणमा पुर्याएको गठबन्धनले दशैं अघि नै सबै सिट बाँडफाँट सक्ने तयारी थालेको छ ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पुगेपनि प्रदेशको सिट टुंगो लगाउनेबारे कुनै छलफल नै भएको छैन । आजदेखि भने प्रदेशगत सिट बाँडफाँटका लागि छलफल सुरु भएको माओवादी एक नेताले बताए ।

कार्यदलका एक सदस्यका अनुसार, प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुटिसकेको छ ।

प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे आइतबारदेखि बालुवाटारमा छलफल हुने भएको छ।

‘प्रदेश सभामा सहमति खोजेपछि प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र पनि मिलाउन सजिलो हुन्छ,’ ती सदस्यले भने, ‘दसैंअघि सिट बाँडफाँट टुंगिन्छ।’

प्रत्यक्षतर्फ उठ्न इच्छुक केही नेताहरू समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएकोले केही क्षेत्र स्वतः मिल्ने देखिएको थियो।

गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा सुरूमा दाबी गरेका थिए।

सबै दल यो संख्याबाट घटेर सिट बाँडफाँट गर्नका लागि लचक भएका थिए। सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ लगभग सहमति भएको दाबी गरिए पनि कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने हुन् भन्ने कार्यदल सदस्यहरूले अहिले नै खुलाउन चाहेका छैनन्।

‘आज कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल सदस्यबीच मात्रै छलफल गर्ने तयारी छ,’ ती नेताले भने, ‘प्रदेशहरूमा सहमति गरी त्यसको खाका शीर्ष नेताहरूलाई दिएपछि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति(कति सिटमा उम्मेदवारी दिने सार्वजनिक गरिन्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति