प्रहरी प्रशासन चलाएर सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको मुखमा सरकारले अनावश्यक रूपमा प्रहरी प्रशासन सरुवा गरेर चुनावमा धाँधली गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्।

धनुषाको विदेह नगरपालिकाको तिनकोरिया चोकमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

मेरो नेतृत्वकै सरकारको पहलकमदीले जयनगर(जनकपुर रेल सञ्चालन भएको दाबी गर्दै अध्यक्ष ओलीले भने, ‘हामीले जनकपुरर – जयनगर रेल ल्यायौँ र आज त्यही रेल चढेर यहाँ तपाईंहरूसमक्ष पुगेका छौँ। हामी काममा विश्वास गर्छौं। गफ दिएर जनतालाई ठग्ने काम हाम्रो हुँदैन।’

एमालेमा एक से एक विकासप्रेमी नेताहरू रहेको बताउँदै अध्यक्ष ओलीले भने, ‘अरूले गफ दिन्छन् होला तर हामीले काम गरेर देखाएका छौँ, हामीले हुलाकी राजमार्ग बनायौँ, कोसी(मरिन डाइभर्सन बनायौँ, जनकपुरमा सघन सहरी विकास कार्यक्रम ल्याएर जनकपुरमा ढलको विकास गरेका छौँ।’

आफ्नो नेतृत्वको सरकारले गरेको विकासलाई देखेर देशभरि एमालेमा जनलहर आएको अध्यक्ष ओलीको भनाइ थियो।

जनकपुरमा चेल चढेर मैनाधपुर स्टेसनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए।

कार्यक्रममा स्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जेल जीवनमा सँगै बसेका धनुषा सहिदनगर नगरपालिका–६ हरबाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेका थिए। त्यहाँ ओलीले चिया पनि खाएका थिए। मुर्बलको निधन भइसकेको छ।

मुर्बलकी छोरी अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएकी हुन्। अध्यक्ष ओलीले मण्डललाई फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए।

काठमाडौंबाट हवाइजहाजमा जनकपुर आएका अध्यक्ष ओली जयनगर(जनकपुर रेल चढेर पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए। रेलमा उनीसँग एमालेका सचिव रघुवीर महासेठ, एमाले नेतृ जुली महतोसहितका रहेका थिए । रेलमा चढ्न ओलीले स्वयं टिकट खरिदेका थिए।

उनी रेलमै चढेर कार्यक्रममा जाने भएपछि शनिबार रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी जनकपुरबाट जयनगरका लागि प्रस्थान गरेका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board