ओलीले भने– माधव नेपालको पार्टी तीतेपातीको झारजस्तै हो, अर्को भदौसम्म पुग्दैन

काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरूद्ध लाग्नेहरूलाई अरिंगाल बनेर ध्वस्त पार्न निर्देशन दिएका छन् । पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलामा बोल्दै उनले एमालेविरूद्ध भ्रम फैलाउनेहरूविरूद्ध अरिंगाल भएर लाग्न निर्देशन दिएका हुन् ।

“अरिंगालजस्तो प्रचारबाजीमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्‍यो भन्छन्,” उनले भने, “लगाउने नै हो । हाम्राविरूद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ, खन्याउन हुन्छ । बारूला भएर लाग्न हुनछ । अनि हामी अरिंगाल बन्न नहुने ?”

ठुलो बलिदानी र संघर्षपछि ल्याएको लोकतन्त्र एक–दुई जनाको लहडको विषय हुन नसक्ने ओलीले बताए ।

“एक–दुई जनालाई लहड चल्यो भने कानुन मिचेर चल्न पाइन्छ ? उनीहरूका यस्ता क्रियाकलापको विरूद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यसकारण कडा प्रहार जरूरी छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ ।”

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी तीतेपानीको झारजस्तै भएको बताए । उनले माधव नेपालको पार्टी अर्को भदौसम्म नरहने दाबी गरे । “तीतेपातीको बोट तीन महिनामा बुढो हुन्छ । ‘एस’ पार्टी भन्ने छ नि आजकल । पोहोर भदौमा जन्मियो । अहिले भदौमा बैस आयो । अर्को भदौ पुग्दैन । तीतेपातीको झारजस्तै हो,” उनले भने ।

उनले गठबन्धनमा आबद्ध दलहरू उमेरअनुसार बुढो भएको बताए । उनले आफू नेतृत्वको नेकपा (एमाले) भने युवा पार्टी भएको दाबी गरे ।

“स्थापना भएको ७२/७३ वर्ष भइसक्यो, तैपनि युवा पार्टी हुन्छ भन्ने आम जिज्ञासा हुनसक्छ । एउटा सल्लाको रूख ५० वर्षसम्म बढ्दै लाग्छ । मान्छे वर पिपल लगाउन चौतारा चिनेको थाहा छ । वर पिपल सयौँ वर्ष बाँँछ । कति वर्ष बाँच्छ बाँच्छ । म सानै हुँदादेखिका वर पिपल छँदै छ । त्यसकारण चौतारा चिन्छन् । अनि एउटा तीतेपातीको बोट लगाउनपरो भने चौतार चिन्छ कसैले ?” उनले प्रश्न गरे, “गठबन्धनमा भएका दलहरू जति जति उमेरका भए पनि आयुअनुसारका बुढा पार्टीहरू हुन् । हाम्रो एमाले भनेको युवा पार्टी हो ।”

अहिले पनि अधिनायकवादका विरूद्ध लड्नका लागि आफूसँग युवा जोश रहेको उनले बताए । विगतमा आफूले जुँगा कालो हुन थालेको कुरा मानिसहरू डराएको पनि टिप्पणी गरे ।

“मेरो जुँगा कालो कालो हुन थाल्या छ भन्दा यति डराए कि दुई चार महिना जुँगाको पछाडि कुदे । मैले कालो त दल्या थिएन । अहिले पनि म भन्छु लोकतन्त्रको रक्षाका लागि लड्नुपर्‍यो भने मेरो उमेर ५० वर्ष अगाडि फर्किन्छ । ५० वर्ष अगाडिको बैस निकालेर अधिनायवादका विरूद्ध लड्न तयार छु । जस्तासुकै परिस्थितिको सामना गर्न तयार छु । यो देशका लागि बलिदान हुन अहिले पनि तयार छु,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति